काठमाण्डौ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) का अध्यक्ष पवनकुमार गोल्यानको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर रायसुझा पेस गरेको छ। 

आर्थिक वर्ष २०७९–८० का लागि प्रस्तुत बजेट कार्यान्वयनको दिशामा अग्रसर हुँदै गरेको र नेपाल राष्ट्र बैंकले समेत आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति तर्जुमा गरिरहेको सन्दर्भमा देशको वर्तमान आर्थिक अवस्था सुधारका लागि चालिनुपर्ने नीतिगत कदमहरुका बारेमा सिबिफिनको प्रतिनिधिमण्डलले प्रधानमन्त्री देउवालाई सुझाव पेस गरेको हो। भेटघाटका क्रममा सिबिफिनले वरिष्ठ अर्थशास्त्री तथा बैंकिङविद्हरुको सहकार्यमा अध्ययन गरी तयार गरेका बैंक तथा वित्तीय संस्थाका अप्ठारा र चुनौतीहरु र सम्बोधनका लागि सुझावहरु–२०७८, तरलता अभावका कारण र समाधानका लागि सुझावहरु–२०७८, विप्रेषण र त्रिभुवन विश्वविद्यालय, केन्द्रीय अर्थशास्त्र विभागसँगको सहकार्यमा तयार गरेको बैंक तथा वित्तीय क्षेत्रबाट निजी क्षेत्रमा प्रवाह भइरहेको कर्जाले नेपालको व्यापार घाटामा प्रभाव–२०७९, लगायतका सुझावसहितका प्रतिवदेनहरु र वर्तमान समयमा जल्दाबल्दा देखिएका विभिन्न आर्थिक एवं वित्तीय क्षेत्रका महत्वपूर्ण विषयहरुमा तयार तीनमहले सुझावसमेत प्रधानमन्त्री  देउवासमक्ष बुझाएको छ।

सिबिफिनका अध्यक्ष गोल्यानले कोभिड–१९ र विश्वमा घटेका विभिन्न घटनाक्रमबाट नेपालको अर्थतन्त्रमा परेका प्रभावहरुको न्यूनीकरण र समस्याग्रस्त उद्योगव्यवसायहरुको पुनरुत्थान, घरेलु, साना तथा मझौला उद्योगहरुको स्तरोन्नति, तरलताको समस्या समाधान, विप्रेषणको व्यवस्थापन, आयात–निर्यातवीचको असन्तुलन, बढ्दो व्यापार घाटा, उत्पादन तथा रोजगारीमा वृद्धि, निर्यात प्रवर्द्धन र उद्यमशीलताको विकाससहित बजेटले प्रक्षेपण गरेको ८ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने विषयमा जानकारी गराउँदै अध्ययन प्रतिवेदनहरुले औल्याएका निष्कर्ष एवं सुझावहरुको सम्बोधन तथा कार्यान्वयनका लागि आवश्यक पहल गर्न प्रधामन्त्रीसँग आग्रह गरे। 

त्यसैगरी सिबिफिनका वरिष्ठ उपाध्यक्ष एवं प्रवक्ता भोजबहादुर शाहले पेस गरिएका प्रतिवेदनको निष्कर्ष तथा सुझावहरुको बारेमा प्रधानमन्त्रीसमक्ष संक्षिप्त जानकारी प्रस्तुत गरे। 

सिबिफिनद्वारा बुझाइएका प्रतिवेदन र सुझावहरु ग्रहण गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले सिबिफिनले प्रस्तुत गरेका सुझाव र प्रतिवेदनहरुले औल्याएका कृषि क्षेत्रको सुधार, व्यापार घाटा न्यूनीकरण तथा आयात प्रतिस्थापनका उपायहरु र निर्यातजन्य वस्तुहरु, लगानीका लागि पूँजी निर्माण तथा परिचालन जस्ता विषयहरुमा विशेष जिज्ञासा राखे। त्यसैगरी वर्तमान अवस्थामा देखिएका समग्र चुनौतिहरुको सामना गर्न र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि नेपाल सरकार निजी क्षेत्रसँग हातेमालो गर्दै अगाडि बढ्ने उनले आश्वासन दिए। 

प्रधानमन्त्रीको निजी सचिवालय बालुवाटारमा भएको भेटघाटमा राज्यमन्त्री उमेश श्रेष्ठ, सिबिफिनको प्रतिनिधिमण्डलमा उपाध्यक्ष राजेश उपाध्याय, महासचिव  केशवबहादुर रायमाझी, सचिव कुशकुमार मल्ली, महानिर्देशक गोपालप्रसाद तिवारीको सहभागिता थियो। भेटघाटमा सेन्चुरी कमर्सियल बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठको समेत सहभागिता थियो।

नेपाल सरकारका विभिन्न निकायहरुबाट प्रकाशित प्रतिवेदनहरुमा औंल्याइएका आर्थिक एवं वित्तीय सूचकांकहरुले मुलुकको अर्थतन्त्र जटिलतातर्फ उन्मूख भइरहेको विषयले साधारण मानिसदेखि राजनीतिज्ञ, नीति निर्माता, अर्थशास्त्री र निजी क्षेत्रका व्यक्तिहरूमा समेत अर्थतन्त्रका बारेमा चिन्ता र चासो बढाएकोे बेलामा प्रधानमन्त्रीसमक्ष गरिएको यो भेटघाट उपलब्धिमूलक भएको सिबिफिनले ठहर गरेको छ।