काठमाण्डौ । हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल)को संस्थापक समूहतर्फको लिलामी सेयरमा खरिद आवेदन पेस गर्ने आज असार १९ गते अन्तिम दिन रहेको छ। 

यो कम्पनीले गत असार ५ गतेबाट ३ करोड ३० लाख संस्थापक सेयर बिक्रीमा राखेको छ। यसमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिने धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ। 

कुन समूहमा कसरी कारोबार हुन्छ भन्ने विवाद टुंगो लागेपछि स्थगित गरिएको यो अवितरित हकप्रद सेयर बिक्री प्रक्रिया पुनः खुला गरिएको हो। यो सेयर नेप्सेमा ‘एचआईडीसीएलपी’ संकेतमा कारोबार हुनेछ। यो सेयर समूह ‘क’को उपसमूह ‘क–२’ अन्तर्गत ‘अन्य संस्थापक’ उपसमूहमा रहने कम्पनीले जनाएको छ। 

बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ कायम गरिएको छ। बोलपत्र पेस गर्दा लगानीकर्ताहरुले न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। 

बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ता र अधिकतमा १० ले भाग जाने संख्यामा खरिद आवेदन पेस गर्न सकिनेछ। यो सेयरमा इच्छुक जोकोही व्यक्ति, संस्था वा कम्पनीले खरिद आवेदन पेस गर्न सक्नेछन्।

बोलपत्र धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेडको काठमाण्डौको नक्सालस्थित कार्यालय वा ग्लोबल आईएमई बैंकका शाखाहरु बिर्तामोड, हुनमानदास रोड (विराटनगर), जनकपुर, आदर्शनगर (वीरगन्ज), हेटौँडा, नारायणगढ, न्युरोड (पोखरा), बुटवल, बागलुङ, नेपालगन्ज, सुर्खेत, घोराही, धनगढी र महेन्द्रनगरमा पनि पेस गर्न सकिनेछ।

गत वर्ष साउन ५ गतेदेखि भदौ ८ गतेसम्म एचआईडीसीएलले हकप्रद बिक्री गरेको थियो। सोही हकप्रदमा बिक्री हुन नसकेको संस्थापक समूहको सेयर अहिले बिक्री गर्न लागेको हो।

यसअघि यो अवितरित हकप्रद सेयर गत वर्ष फागुन १ गतेबाट फागुन १५ गतेसम्म बिक्रीमा राखिए पनि कुन समूहमा कसरी हुन्छ भन्नेमा विवाद हुँदा बिक्री प्रक्रिया स्थगित गरिएको थियो।