काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले निजी प्रयोजनका लागि सवारीसाधनको आयात लागेको प्रतिबन्ध हटाउन आफू सकारात्मक रहेको बताएका छन्। 

नाडाका अध्यक्ष धु्रव थापा नेतृत्वको एक प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री देउवासँग भेट गरेको थियो। सोही भेटमा प्रधानमन्त्री देउवाले यस्तो धारणा राखेका हुन्। 

प्रधानमन्त्री देउवाले सवारीसाधन पैठारीकर्ताहरुले अब नेपालमै विद्युतीय सवारीसाधनहरुको एसेम्बलिङ प्लान्ट स्थापना गरी बढ्दो व्यापार घाटा कम गर्न सुझाव पनि दिए। 

भेटमा अध्यक्ष थापाले नेपालमा पैठारी हुने हजारौँ वस्तुमध्ये कार, जिप र भ्यानजस्ता सवारीसाधनमात्र यस्तो वस्तु हुन् जसले आयातको तुलनामा झण्डै दोब्बरभन्दा बढी राजश्व योगदान पुर्याउने गरेको बताए। यो तथ्यले नेपालको बढ्दो व्यापार घाटा र शोधनान्तर घाटामा यसको अंश अत्यन्त सानो भए पनि योगदान भने धेरै उच्च रहेको समेत स्पष्ट हुने उनले बताए। 

यिनै यथार्थताहरुलाई मनन गर्दै कार, जिप र भ्यानजस्ता निजी प्रयोजनका सवारीसाधनको आयातमा लागेको प्रतिबन्ध फुकाउनका लागि आवश्यक पहल गरिदिन थापाले प्रधानमन्त्री देउवासँग आग्रह गरेका छन्। 

भेटमा अध्यक्ष थापाले ‘नाडा अटो एक्सपो २०२२’ आउँदो भदौ ७ गतेदेखि १२ गतेसम्म काठमाण्डौको भृकुटीमण्डपमा हुन गइरहेको जानकारी गराए। त्यसअघि नै नयाँ सवारीसाधनको आयात सुचारु हुनु आवश्यक भएकोले पनि सो प्रतिबन्ध खुला गरिदिन उनले आग्रह गरे। 

भेटमा उपाध्यक्ष सुनिल रिजाल, कोषाध्यक्ष मिलनबाबु मल्ल तथा केन्द्रीय कार्यसमिति सदस्यहरु आकाश गोल्छा तथा कपिल शिवाकोटीसमेतको उपस्थिति थियो।