– रेखा चन्द
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको बर्खास्ती माग गर्दै चरणबद्ध आन्दोलन सुरु गरेका तीन विद्यार्थी संगठनले आज दिउँसो काठमाण्डौको माइतीघरमा कार्टुन प्रदर्शन गरेको छ।
माइतीघरमा आज दिउँसो ३ बजेबाट नेपाली कांग्रेसनिकट नेविसंघ, नेकपा माओवादी केन्द्रनिटक अखिल (क्रान्तिकारी) र एकीकृत समाजवादीनिकट अनेरास्ववियुले गभर्नरको कार्टुन प्रदर्शन गरेको हो।
एमालेको अर्थ तथा योजना विभागको सदस्यमा रहेको एम अधिकारी गभर्नर अधिकारी नै रहेको दाबी गर्दै विद्यार्थी संघसंगठन केही दिनअघिदेखि गभर्नरको राजीनाको माग गर्दै चरणबद्ध आन्दोलन गरिरहेका छन्। प्रदर्शनमा उत्रिएका विद्यार्थीले ‘पार्टीको झोले मुर्दावाद’, ‘अवैध गभर्नर मुर्दावाद’, ‘अवैध गभर्नरलाई बर्खास्त गर’, ‘आर्थिक संकट निम्त्याउने गभर्नरलाई बर्खास्त गर’, ‘राष्ट्र बैंकमा राजनीतिक गभर्नर नियुक्त गर्न पाइँदैन’, ‘एम अधिकारीलाई बर्खास्त गर’जस्ता नारा लगाएका थिए।
महाप्रसाद अधिकारी उर्फ एम अधिकारीले राष्ट्र बैंक ऐन २०५८ को बर्खिलाप गभर्नरको जिम्मेवारीमा रहिरहेर कानुनी राज्यको धज्जी उडाएको आरोप विद्यार्थी संगठनहरुको छ। यस्तै सेयर कारोबार, क्रिप्टोकरेन्सीजस्ता विभिन्न विवादमा मुछिएका गभर्न अधिकारी प्रतिपक्ष दलको सदस्यता लिएर मुलुकको अर्थतन्त्र ध्वस्त पार्न सक्रिय रहेको प्रमाणित भएको उनीहरुको दाबी छ।
विद्यार्थी संगठनहरुले आगामी साउन ७ गतेसम्म गभर्नरको राजीनामा माग गर्दै आन्दोलन जारी राख्ने जनाएका छन्। साउन ६ गते देशैभरिका क्याम्पसहरुमा आफ्नो सापेक्षतामा विरोध कार्यक्रम गर्ने र साउन ७ गते संघीय संसद सदस्यहरुलाई अवैध गभर्नर बर्खास्तीको माग गर्ने आवाज संसदमा उठाउन अनुरोध गर्दै प्रदर्शनीमार्ग अगाडि सडकबाट सन्देश पठाउने कार्यक्रम रहेको छ।
12 minutes ago
28 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
3 hours ago
3 hours ago
3 hours ago