काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)को अगुवाइ तथा नबिल बैंक लिमिटेडको सहभागितामा लुम्बिनी प्रदेशको सिद्धार्थनगर नगरपालिकामा १०० शय्याको एडभान्स इन्टरनेसनल मल्टी स्पेसियालिटी हस्पिटल निर्माण तथा सञ्चालन गर्न रु. २ अर्ब ५४ करोडसम्मको कर्जा सुविधाहरु स्वीकृत गरी बिहीबार (साउन ५ गते) सहवित्तीयकरण सम्झौता सम्पन्न भएको छ। 

उक्त हस्पिटल निर्माण गर्न निफ्राले रु. १ अर्ब ५४ करोड तथा नबिल बैंकले रु. १ अर्बसम्म लगानी गर्नेछ। 

कार्यक्रममा निफ्राका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडा, नायब महाप्रबन्धक सूर्यबहादुर तामाङ र नायब महाप्रबन्धक विनयनाथ न्यौपाने तथा नबिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना, वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र नायब प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेसहित बैंकहरुका कर्मचारीहरु र परियोजनाका तर्फबाट अध्यक्ष श्री कमल भण्डारीलगायत अन्य पदाधिकारीकोे उपस्थिति थियो।

कार्यक्रममा हस्पिटलका अध्यक्ष कमल भण्डारीले परियोजनामा लगानीका लागि सहवित्तीयकरण सम्झौता सम्पन्न हुँदा आफू उत्साहित भएको र परियोजना निर्माण कार्य समयमै सम्पन्न गरी व्यावसायिक सञ्चालन सुरु गर्ने प्रतिबद्धता व्यक्त गरे। उक्त हस्पिटलले लुम्बिनी प्रदेशको स्वास्थ सेवामा विशिष्टीकृत योगदान पुर्याउने अपेक्षा गरिएको छ।