– रेखा चन्द

काठमाण्डौ । आज सार्वजनिक भएको मौद्रिक नीति खासै सकारात्मक नरहेको उद्योगी–व्यवसायीहरुको प्रक्रिया रहेको छ। 

राष्ट्र बैंकले संकुुचित मौद्रिक नीति ल्याएको उद्योगी–व्यवसायीहरुको भनाइ छ। उनीहरुले सीआरआर, एसएलआरलगायतको सीमा बढ्दा बैंकहरुको कर्जा विस्तार गर्ने क्षमतामा ह्रास आएको धारणा व्यक्त गरेका छन्। 

नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणा सीआरआर ३% बाट बढाएर ४% पुर्याइँदा समग्र बैंकिङ प्रणालीबाट करिब ५० अर्ब ऋण दिने क्षमता कम हुने, बजारमा अझ तरलताको चाप पर्ने र ब्याजदर बढुने बताउँछिन्। ‘घरजग्गा धितो कर्जा काठमाण्डौ उपत्यकामा फेयर मार्केट प्राइसको ४०%बाट ३०% र उपत्यकाबाहिर ५०%बाट ४०% कायम गरिएको छ’, उनले भनिन्, ‘यसले गर्दा रियल स्टेटमा असर गर्ने देखिन्छ।’

ऋणको वृद्धिदर नै १२.६% लक्ष्य लिइनुले ऋणमा संकुचन ल्याउने राणाको भनाइ छ। ‘एसएलआर १०%बाट १२% पुर्याउनुले खासै कुनै असर गर्दैन’, उनले भनिन्। 

सेयर बजारमा कुनै तात्विक अन्तर नभए पनि १२ करोडको सीमा कायमै राखिनुले तरलताको अभाव भइरहेको अवस्थामा सेयर बजारमा नकारात्मक असर पर्न सक्ने राणा बताउँछिन्। ‘राष्ट्र बैंकबाट बैंकहरुले लिने ऋण ७%बाट ८.५% पुर्याउने व्यवस्था गरिएको छ’, उनले भने, ‘यसको असर बेसरेटमा पर्न गई ब्याज दर केही मात्रा पर्ने देखिन्छ।’

नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेशकुमार अग्रवाल मौद्रिक नीति एकदमै संकुुचित आएको बताउँछन्। ‘११ महिनाको तथ्यांक हेर्दा त्यति चिन्ताजनक अवस्था देखिँदैन। किनकि त्यस समयमा रेमिट्यान्स बढेको देखिन्छ’, उनी भन्छन्, ‘तर, पनि हरेक कुरामा संकुुचित मौद्रिक नीति आएको छ। यसले भनेजसरी आर्थिक ग्रोथ हुन दिँदैन।’

मौद्रिक नीतिमार्फत मुद्राप्रदायक उपलब्धता १२%मात्रै कायम गरिएकोमा अग्रवालले असन्तुष्टि पोखे। ‘यो गत वर्ष १८% थियो’, उनले भने, ‘कर्जा विस्तारको लक्ष्य गत वर्ष १९% थियो, अहिले १२.६% मा राखिएको छ। यसले गर्दा ब्याजदर बढ्छ।’ सीआरआरलगायतको सीमा बढ्दा बैंकको कर्जा विस्तारको क्षमतालाई संकुचित गराएको अग्रवालको भनाइ छ। 

यो मौद्रिक नीतिलाई उद्योगी–व्यवसायीका लागि अहिलेको अवस्थामा त्यति सकारात्मक भन्न नमिल्ने अग्रवाल बताउँछन्। ‘अर्थतन्त्र संकुुचन गरिएसँगै उद्योग–व्यवसाय पनि संकुुचित भएका छन्’, उनले भने, ‘व्यापार विस्तारको क्षेत्रमा यो मौद्रिक नीति त्यति सकारात्मक देखिएन।’

सेयर धितो कर्जामा गरिएको थोरै परिवर्तनले साना लगानीकर्ता लाभान्वित हुने अग्रवालको भनाइ छ।