काठमाण्डौ । माछापुच्छ्रे बैंकले आफ्नो तलबी खातामा रहेको बीमा सुविधाअन्तर्गत ग्राहकले प्राप्त गर्ने बीमा रकम भुक्तानी गरेको छ। 

बैंकको सिमरा शाखामा स्मार्ट तलब खाता खोलेका  उमाकान्त चौधरीको परिवारलाई स्मार्ट तलब खाताको बीमा सुविधाअन्तर्गत रु. ७ लाख  रकम भुक्तानी गरेको हो। ग्राहक उमाकान्त चौधरीको दुर्घटनाबाट मृत्युपश्चात उनको परिवारले दाबी गरेको उक्त दुर्घटना बीमा बैंकले मृतकको परिवारलाई हस्तान्तरण गरिएको बैंकले जनाएको छ। 

बैंकले यसअघि पनि विभिन्न समयमा आफ्नो स्मार्ट तलब बचत खाताअन्तर्गत विभिन्न ग्राहकलाई बीमा रकम भुक्तानी गर्दै आएको छ। 

माछापुच्छ्रे बैंकले शून्य न्यूनतम मौज्दातमा खोल्न मिल्ने स्मार्ट तलब खातामा ग्राहकलाई रु. ७ लाखसम्मको दुर्घटना बीमा, रु. १ लाखबराबरको जटिल प्रकृतिका रोगको उपचार खर्च, रु. ४० हजारसम्मको अस्पताल भर्ना खर्च र रु १० हजारसम्मको औषधि खर्चजस्ता सुविधा प्रदान गर्दै आएको छ। 

बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, ९ एक्सटेन्सन काउन्टर, १६७ शाखारहित बैंकिङ सेवा, २०७ एटीएममार्फत १३ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ।