– रेखा चन्द

काठमाण्डौ । मर्जर प्रक्रियामा रहेका हिमालयन बैंक र सिभिल बैंकको सम्पत्ति दायित्व मूल्यांकन (डीडीए) अन्तिम चरणमा पुगेको छ।

दुवै बैंकको आन्तरिक कार्यसँगै डीडीए अन्तिम चरणमा रहेको स्रोत बताउँछ। ‘अहिले हाम्रो इन्टरनल काम हुुँदैछ। डीडीए पनि अन्तिम प्रक्रियामा छ। त्यसैले अब छिट्टै डीडीए तयार हुन्छ’, स्रोतले भन्यो।

नेपाल राष्ट्र बैंकको साउन तेस्रो साता बसेको सञ्चालक समितिले दुुवै बैंकको मर्जर तथा प्राप्तिको सैद्धान्तिक स्वीकृत दिने निर्णय गरेको थियो। गत असार २९ मा हिमालय बैंकले सिभिल बैंकलाई प्राप्ति गर्नेसम्बन्धी प्रारम्भिक सम्झौता भएको थियो। 

सम्भौताअनुुसार सिभिल बैंकको १०० कित्ता सेयर हुनेले हिमालयनको ८१ कित्ता सेयर पाउनेछन् भने मर्जरपछि बैंकको नाम हिमालयन बैंक नै रहनेछ। यस्तै बैंकको सञ्चालक समितिमा पनि अहिलेको हिमालयनका सदस्यहरु नै रहनेछन्। बैंकको प्रमुुख कार्यकारी अधिकृतमा हिमालयन बैंकका अशोक राणा रहनेछन् भने वरिष्ठ डेपुटी सीईओमा सिभिल बैंकका सुनिलकुमार पोखरेल रहनेछन्।

प्राप्तिपछि बैंकको चुक्तापुँजी २२ अर्ब रुपैयाँभन्दा बढी पुुग्नेछ। हाल हिमालयनको चुक्तापुँजी १२ अर्ब ९६ करोड ८७ लाख २५ हजार ७२५ रुपैयाँ र सिभिलको ९ अर्ब ७ करोड ५ लाख ४३ हजार ९० रुपैयाँ रहेको छ। 

यस्तै ग्लोबल आईएमई र बैंक अफ काठमाण्डू (बीओके)को मर्जर समितिले पनि डीडीएकै काम गरिरहेको स्रोतको दाबी छ। ‘यो वर्षको दुुवै बैंकले एजीएम गर्नुपर्ने हुन्छ। अहिले गत आर्थिक वर्षको नाफा नोक्सानको हिसाब पनि तयार गर्ने काम भइरहेको छ। त्यो एजीएमबाट पास भइसकेपछि राष्ट्र बैंकमा जानुुपर्ने हुन्छ र त्यसपछि मात्रै राष्ट्र बैंकले अन्तिम स्वीकृति दिन्छ’, स्रोतले भन्यो।