काठमाण्डौ । हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)ले लिलामीमा राखेको सेयरमा बोलपत्र पेस गर्ने आज असोज ४ गते अन्तिम दिन रहेको छ। 

कम्पनीले गत भदौ २० गतेबाट कुल २ करोड ३२ लाख ४ हजार ४९५ कित्ता संस्थापक सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखेको छ। यो सेयरमा आज बैंकिङ समयसम्म बोलपत्र पेस गर्न सकिनेछ। 

यसअघि कम्पनीले दुईपटक संस्थापक समूहको अवितरित हकप्रद सेयर लिलामीमा राखेको थियो। दुवैपटक बिक्री हुन नसकेको सेयर फेरि कम्पनीले लिलामीमा राखेको हो। यो लिलामी सेयरमा जोकोही व्यक्ति, संस्था वा कम्पनीले आवेदन दिन सक्नेछन्। लगानीकर्ताले न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन्। 

लिलामीमा राखिएको सेयर न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। 

लगानीकर्ताले धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको काठमाण्डौ नक्सालस्थित कार्यालयका साथै ग्लोबल आइएमई बैंकको विर्तामोड, विराटनगर, जनकपुर, वीरगन्ज, हेटौँडा, नारायणगढ, पोखरा, बुटवल, बागलुङ, नेपालगन्ज, सुर्खेत, घोराही, धनगढी र महेन्द्रनगर शाखाबाट आवेदन दिन सक्नेछन्।