पालुङटार । अर्थमन्त्री जनार्दन शर्माले इतिहास र र्तमानमा राजनीतिक उचाइ हासिल गरेको गोरखा जिल्लाले यतिबेला विकास निर्माण र समृद्धिको सन्दर्भमा न्याय खोजेको बताएका छन्। त्यसका लागि ऐतिहासिक लिगलिगकोट र आधुनिक पालुङटारलाई जोडेर राजनीतिक इतिहाससहितको पर्यटन विकासलाई अगाडि बढाउनुपर्नेमा उनले जोड दिए। 

पालुङटारलाई सूचनाप्रविधिमा अघि बढाई स्मार्ट सिटी बनाउनुपर्ने भन्दै मन्त्री शर्माले संघीय सरकार र अर्थ मन्त्रालयबाट यसका लागि सम्पूर्ण सहयोग  हुने बताए। ‘स्मार्ट सिटीमा गरिबी र अभाव भन्ने कुरा हुँदैन’, उनले भने, ‘पालुङटारले त्यो समृद्धिको उचाइ पनि हासिल गर्नेछ।’

शर्माले अहिले देशलाई उत्पादनसँग जोडेर आयातीत वस्तुलाई विस्थापन गर्नुपर्नेमा पनि जोड दिए। ‘नजिकै नदी बगिरहेको छ तर हामीले हाम्रा सुख्खा टार सिँचाइ गर्न सकिरहेका छैनौँ, यो पानीलाई टारमा ल्याउने योजना प्राथमकितामा राख्नुपर्दछ’, उनले भने, ‘यसका लागि सरकारले पर्याप्त बजेट प्रदान गरेको छ। बजेट खर्च गर्दै कामलाई द्रुतगतिमा अघि बढाउन अनुरोध गर्दछु। 

देशमा एउटा पनि मल कारखाना नभएको र जापानिज कम्पनीले मल कारखाना खोल्न चासो राखेकाले भूगोल र विद्युत आपूर्तिका कारणले आफूले यसै क्षेत्रलाई सिफारिस गरेको शर्माले बताए। नेपालको मध्यपहाडी लोकमार्ग  पालुङटार भएर अघि बढेको उल्लेख गर्दै उनले उक्त राजमार्ग निर्माणको योजना माओवादी सरकारले ल्याएको पनि स्मरण गराए।