काठमाण्डौ । माछापुच्छ्रे बैंक २२ औँ वर्ष पार गरी २३ औँ वर्षमा प्रवेश गरेको छ। 

२२ वर्षअघि पोखरामा क्षेत्रीय बैंकका रुपमा स्थापना भएको माछापुच्छ्रे बैंक ग्राहकको अगाध माया र अटुट विश्वास, नियमकारी निकायको मार्गदर्शन, सेयरधनी सदस्यको भरोसा, कर्मचारीको अतुलनीय योगदानको फलस्वरुप आजको दिनमा आइपुग्दा व्यावसायिक बैंकहरुमा अब्बल बैंकका रुपमा स्थापित हुन सफल भएको छ। २२ वर्षको दौरानमा बैंकप्रति अनवरत रुपमा साथ सहयोग र विश्वास प्रदान गर्ने सम्पूर्ण ग्राहकप्रति बैंक सदैव अनुग्रहित बैंकले जनाएको छ। 

२३ औँ वर्षमा प्रवेश गरेको अवसरमा बैंकले एक कार्यक्रम गरी २० वर्षभन्दा बढी निरन्तर सेवा गरिरहेका कर्मचारीहरुलाई सम्मान गरेको छ। उक्त कार्यक्रममा माछापुच्छ्रे बैंकका अध्यक्ष डा. वीरेन्द्रप्रसाद महतोले २२ वर्षसम्मका यात्रालाई सफल बनाउन योगदान दिने सम्पूर्ण ग्राहक, नियमनकारी निकाय, सेयरधनी सदस्य, सम्पूर्ण कर्मचारी एंव शुभचिन्तकहरुप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दै आगामी दिनहरुमा पनि अझ गुणस्तरीय बैंकिङ सेवा दिँदै थप उत्कृष्ट सुविधाहरु प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे। 

यसैगरी सञ्चालक समितिका सदस्य रोशन केसीले यस बैंकका संस्थापक अध्यक्ष स्वर्गीय सूर्यबहादुर केसीको योगदानलाई उच्च कदर गर्दै बैंकलाई यो स्थानमा ल्याउन सहयोग गर्ने सम्पूर्ण ग्राहक, नियमनकारी निकाय, सेयरधनी सदस्य, सम्पूर्ण कर्मचारी एवं शुभचिन्तकहरुलाई बधाइ तथा धन्यवाद प्रकट गरे।

कार्यक्रममा बैंक सञ्चालक समितिका सदस्यहरु जयमुकुन्द खनाल र विश्वप्रकाश गौतमले आ–आफ्नो मन्तव्य राख्दै बैंकलाई आजको स्थानमा ल्याई पुर्याउन सहयोग गर्ने सम्पूर्ण निकाय, ग्राहक महानुभाव एंव शुभचिन्तकहरुलाई हृदयदेखि नै धन्यवाद ज्ञापन गरे। 

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले बैंकले सबल, उत्कृष्ट एवं विस्तारित भन्ने नाराका साथ बैंक पुँजी, व्यवसाय वृद्धि, शाखा सञ्जाल विस्तार एवं रोजगारी सिर्जनालगायत सबै हिसाबमा अग्रणी स्थानमा रही समस्त राष्ट्रको आर्थिक विकासमा टेवा पुर्याउन निरन्तर लागिपर्ने प्रतिबद्धता व्यक्त गरे। 

कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सर्जुकुमार थापालगायत नायव महाप्रबन्धक प्रसिद्ध राज अर्यालले आ–आफ्नो मन्तव्य राख्दै बैंकलाई आजको स्थानमा ल्याई पुर्याउन सहयोग गर्ने सम्पूर्ण निकाय, ग्राहक महानुभाव एंव शुभचिन्तकहरुलाई हृदयदेखि नै धन्यवाद ज्ञापन गरे।

यसका साथै माछापुच्छ्रे बैंकले आफ्नो २२ औँ वार्षिकोत्सवका अवसरमा विभिन्न क्यासब्याक तथा डिस्काउन्ट अफरहरु ल्याएको छ। जसको उपयोग बैंकले प्रदान गर्दै आएको डिजिटल सेवा सुविधाहरु (एमबीएल एम स्मार्ट, डेबिट तथा क्रेडिट कार्ड) बाट लिन सकिनेछ।  उक्त अफरअन्तर्गत बैंकका ग्राहकले  फुडमाण्डूमार्फत बैंकको क्रेडिट कार्ड प्रयोग गरी खाना अर्डर गर्दा २० प्रतिशत वा अधिकतम ३०० रुपैयाँ, एमबीएल एम स्मार्टमार्फत पहिलोपटक मोबाइल टपअप गर्दा १० प्रतिशत वा अधिकतम १०० रुपैयाँ, एमबीएल एम स्मार्टमार्फत यही असोज ९ गतेदेखि असोज २० गतेसम्म हरेक दिन बिहानको ७ बजेबाट बिहानको ९ बजेसम्म २ घन्टाको अवधिमा २२२ भन्दा बढीको ५ वा सोभन्दा बढी कारोबार गरेको खन्डमा २२ प्रतिशत वा अधिकतम २२२ रुपैयाँ, सीजी डिजिटलमार्फत क्रेडिट कार्ड प्रयोग गरी समान अर्डर गर्दा २० प्रतिशत वा अधिकतम १ हजार ५०० रुपैयाँसम्मको क्यासब्याकहरु (यो योजना दशमीसम्मका लागिमात्र), सेन्ट्रल बजारमार्फत डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी समान अर्डर गर्दा १० प्रतिशत वा अधिकतम १ हजार रुपैयाँसम्मको छुट र असोज १५ गतेबाट दराजमार्फत डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्दा २२ प्रतिशत वा अधिकतम २ हजार २२२ रुपैयाँसम्मको डिस्काउन्ट (यो योजना सीमित अवधिका लागिमात्र ) प्राप्त गर्न सक्नेछन्। 

स्थापनाकालदेखि नै नयाँ–नयाँ प्रविधिमा आधारित सेवासुविधा ग्राहकमाझ ल्याउन कटिबद्ध रहेको माछापुच्छ्रे बैंकले आफ्ना १६५ वटा शाखालगायत १७४ शाखारहित बैंकिङ, १० वटा एक्सटेन्सन काउन्टर  गरी  जम्मा ३४९ स्थानबाट १ हजार ६०० भन्दा बढी कर्मचारीमार्फत ग्राहकमा सम्पूर्ण बंैकिङ सुविधा प्रदान गर्नुका साथै बैंकको देशभर २०५ वटा एटीएममार्फत ग्राहकलाई सेवा प्रदान गरिरहेको छ।