काठमाण्डौ । मिडलवेट मोटरसाइकल सेगमेन्टको मार्केट लिडर रोयल इनफिल्ड आफ्नो ३५०सीसी पोर्टफोलियोलाई रिफ्रेस गर्ने जमर्कोमा जुटेको छ। 

कम्पनीले सन् २०२० मा जे–सिरिज इन्जिनसहितको पहिलो बाइक मेटियोर ३५० सार्वजनिक गरेको थियो। त्यसपछि नयाँ पुस्ताको क्लासिक ३५० लन्च भएको थियो र यो वर्ष कम्पनीले हन्टर ३५० बजारमा ल्याएको छ। अब कम्पनीले बुलेट ३५० लाई नयाँ लुकमा लन्च गर्ने तयारी गरिरहेको छ।

मिडिया रिपोर्टहरुका अनुसार बुलेट ३५० मा अपग्रेडका क्रममा धेरै परिवर्तन गरिने छैन। नयाँ जेनका बुलेट पुरानो बोल्ड लुकका साथै नयाँ रङमा बजारमा आउनेछ। यो बाइक परीक्षणका क्रममा देखिएको छ। यस अवधिमा नयाँ बुलेट ३५० मा हेडल्याम्प र टेलल्याम्पका रुपमा नयाँ परिवर्तनहरु देखिएका छन्। 

हालको बुलेटमा भन्दा नयाँ बुलेटमा क्रोम हाइलाइटहरु अलि बढी प्रयोग गरिएको छ। क्रोम बिट्स हेडल्याम्प, टर्न इन्डिकेटर, फ्युल ट्यांकी र रियर भ्यु मिररहरुमा देख्न सकिन्छ। बाइकको रेट्रो थिम धेरै हदसम्म पहिलेको जस्तै रहेको छ। यसमा राउन्ड हेडल्याम्प र टर्न इन्डिकेटरहरु, क्लासिक टियर ड्रप आकारको इन्धन ट्यांकी, छेउमा रहेको पुरानो युटिलिटी बक्स, फराकिलो रियर मड गार्ड र वायर–स्पोक ह्विलहरुजस्ता सुविधा छन्।

नयाँ बुलेट ३५० नयाँ कलरमा उपलब्ध गराउन सकिने बताइएको छ। हाल बुलेट ३५० ब्ल्याक, ओनिक्स ब्ल्याक र सिल्भर विकल्पहरुसँग आउँछ। बुलेट ईएस (इलेक्ट्रिक स्टार्ट) भेरियन्टमा रिगल रेड र रोयल ब्लू कलर अप्सनहरु पनि छन्।

मिडिया रिपोर्टका अनुसार रोयल इनफिल्डको नेक्स्ट जेनरेसन बुलेट ३५० लाई कम्पनीको नयाँ जे–सिरिज प्लेटफर्ममा नयाँ क्लासिक ३५०, मेटियोर ३५० र हन्टर ३५० जस्तै विकसित गरिनेछ। जे–सिरिज प्लेटफर्मको मुख्य विशेषता भनेको त्यहाँ विकसित भइरहेका बाइकहरुमा धेरै पावर र कम भाइब्रेसन हुनुका साथै उत्कृष्ट प्रदर्शन पनि हुन्छ।

यदि रोयल इनफिल्डको नेक्स्ट जेनरेसन बुलेट ३५० मा पाइने इन्जिनका बारेमा कुरा गर्ने हो भने यो ३४९ सीसी सिंगल सिलिन्डर एयर कुल्ड इन्जिनसँग आउन सक्छ। यसले २०.२बीएचपी पावर र २७एनएम टर्क जेनेरेट गर्न सक्छ। नयाँ बुलेट ५ स्पिड गियरबक्सका साथ आउनेछ। यसका साथै यसको माइलेज पनि पहिलेको भन्दा राम्रो हुने बताइएको छ। –एजेन्सी