काठमाण्डौ । दुर्घटनामा एक खेलाडीको ज्यान गएसँगै प्रतिबन्ध लागेको प्याराग्लाइडिङ उडान शनिवारदेखि पुनः सुरु हुने भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले प्याराग्लाइडिङ उडानमा लगाएको प्रतिबन्ध ५ दिनमै हटाएको हो । अब योसँगै भोलि(शनिवार)देखि प्याराग्लाइडिङ खुल्नेछ । 

प्राधिकरणले प्याराग्लाइडिङ उडान सञ्चालनका लागि ५ वटा मापदण्ड पनि तोकेको छ । 

गत असोज ३० गते पोखरामा, नवौं राष्ट्रिय खेलकुदको क्रममा त्रिभुवन आर्मी क्लबका खेलाडी निसिम थापाको प्याराग्लाइडिङ अवतरणका क्रममा मृत्यु भएको थियो । सो घटनापछि प्राधिकरणले देशभरका प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि बन्द गरेको थियो।

घटनापछि प्याराग्लाइडिङ उडानलाई सुरक्षित र व्यवस्थित बनाउन प्राधिकरणले गत बुधबार उपमहानिर्देशक हंशराज पाण्डेको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको थियो। सो समितिको प्रतिवेदनपछि नै प्राधिकरणले ५ वटा शर्तसहित प्याराग्लाइडिङ उडान खुलाउने निर्णय गरेको हो । 

प्राधिकरणले तोकेको ५ मापदण्ड यस्ता छन्:

१.प्याराग्लाइडिङ उडानलाई थप नियमित सुरक्षित तथा व्यवस्थित बनाउन प्राधिकरणले व्यावसायिक रूपमा उडान गर्न उपलब्ध गराएको उडान क्षेत्रभित्र व्यवसायिक उडानबाहेक अन्य उडान गतिविधि गराउन पाइने छैन।

२.आगामी १५ दिनभित्र हवाइ खेलकुद संघ, नेपालबाट प्याराग्लाडिङ उडानको लाइसेन्स लिएका सबै पाइलटले प्राधिकरणले तोकेको मेडिकल लेभल–२ र मनोवैज्ञानिक अवस्थाको समेत परीक्षण गर्नुपर्ने व्यवस्था गरिएको छ।
३.
व्यावसायिक उडानमा संलग्न पाइलटहरूले प्राधिकरणको स्वीकृतिमा एकै किसिमको पोसाक लगाउनुपर्ने र उक्त पोसाकमा कम्पनी एवं पाइलटको नाम स्पष्ट देखिनु पर्नेछ।

४.व्यावसायिक उडानमा प्रयोग हुने ग्लाइडरहरूको १५ दिन भित्रमा प्राधिकरणका ‘एयर–वर्दिनेस इन्सपेक्टर’को रोहबरमा परीक्षण गराई योग्य ग्लाइडरहरूलाई मात्र व्यावसायिक उडान अनुमति दिने।

५.पाइलटको ‘रिफ्रेसर एड्भान्स्ड ट्यान्डेम एस.आइ.भी.’ तथा आपतकालीन अवस्थामा ‘ट्यान्डेम रेस्क्यु’ उपयोग गर्ने प्रयोगात्मक तालिम वर्षको एकपटक गर्ने।