काठमाण्डौ । कुमारी बैंक र एनसीसी बैंकको मर्जर प्रक्रिया टुंग्याउन द्रुतगतिमा कामकारबाही अगाडि बढाइएको छ। दुवै बैंकले मर्जर प्रक्रिया सकेर आउँदो पुस १७ गतेभित्रै एकीकृत कारोबार सुरु गर्ने तयारी गरेका छन्।  

काठमाण्डौको नक्सालमा आज सम्पन्न कुमारी बैंकको २२ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै बैंकका अध्यक्ष अमिर प्राप्त राणाले दुवै बैंकले मर्जर प्रक्रिया टुंग्याउन युद्धस्तरमा काम गरिरहेको बताए। ‘मर्जर प्रक्रिया पूरा गरी आउँदो पुस १७ गतेभित्रै एकीकृत कारोबार सुरु गर्ने हाम्रो लक्ष्य रहेको छ’, उनले भने।

सभाले कुमारी र एनसीसी बैंकबीचको मर्जर प्रक्रियासम्बन्धी प्रस्ताव पारित गरेको छ। सभाले मर्जर प्रक्रिया टुंग्याउन गर्न पर्ने सम्पूर्ण कार्य पूरा गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि अनुमोदन गरेको छ। 

अध्यक्ष राणाका अनुसार हाल दुवै बैंकको डीडीए अन्तिम चरणमा छ। ‘केही दिनभित्रै मर्जरसम्बन्धी अन्तिम प्रतिवेदन आउनेछ’, उनले भने। 

सभाले आर्थिक वर्ष २०७८–७९ का लागि सञ्चालक समितिबाट प्रस्तावित चुक्तापुँजीको १२.५० प्रतिशत नगद लाभांश (करसहित) अनुमोदन गरेको छ। सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेजहरु छलफल गरी पारित गरेको छ। 

बैंकको सहायक कम्पनी कुमारी क्यापिटलको गत आर्थिक वर्षको वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरण छलफल गरी सभाले अनुमोदन गर्नेछ।