– रेखा चन्द

काठमाण्डौ । बैंकको चर्को ब्याजदरले उद्योग-व्यवसायी धरासायी बन्दै गएको भन्दै उद्योग-व्यवसायीले आन्दोलन गरिरहेको अवस्थाबीच नेपाल राष्ट्र बैंकले भने पछिल्लो समय मुुलुुकको अर्थतन्त्र सुुधारोन्मुख हुँदै गएको तथ्यांक सार्वजनिक गरेको छ। 

राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७९–८० को तीन महिना (असोज) को तथ्यांकअनुसार गत आर्थिक वर्षको तुलनामा हाल अर्थतन्त्र सुुधारको बाटोमा लागेको देखिएको हो। समीक्षा अवधिमा शोधनान्तर स्थिति बचतमा रहनुका साथै विप्रेषण आप्रवाहमा भएको वृद्धिसँगै अर्थतन्त्र सकारात्मक बाटोतिर लागेको तथ्यांकले देखाउँको छ। 

केन्द्रीय बैंकका अनुसार समीक्षा अवधिमा शोधनान्तर स्थिति १२ अर्ब ४३ करोड रुपैयाँले बचतमा रहेको छ। जुन अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ७ अर्ब ७१ करोडले घाटामा रहेको थियो। 

यस्तै समीक्षा अवधिमा विप्रेषण आप्रवाह १६.८ प्रतिशतले वृद्धि भई २ खर्ब ८१ अर्ब ५ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ७.१ प्रतिशतले घटेको थियो। 

विभिन्न सूूचकमा आएको सूूधारले अर्थतन्त्र सकारात्मक देखिन थालेको राष्ट्र बैंकका एक उच्च अधिकारी बताउँछन्। ‘समग्रमा हेर्दा अर्थतन्त्रमा सुुधारको संकेत देखिन्छ’, ती अधिकारीले भने, ‘किनकि निर्यात साढे ३५ प्रतिशतले बढेको छ। रेमिट्यान्स पनि बढेको छ। जुुन एकदमै राम्रो पक्ष हो।’

अझै पनि केही सूचकहरुमा सूूधार ल्याउनुपर्ने अवस्था भने रहेको ती अधिकारीको भनाइ छ। ‘विशेषगरी वार्षिक विन्दुगत आधारमा विस्तृत मुद्राप्रदाय ५.३ प्रतिशतले बढेको छ तर राष्ट्र बैंकको वार्षिक लक्ष्य १२ प्रतिशत रहेकोले त्यो सूूचकलाई सुुधार गर्नुपर्ने स्थिति छ’, उनले भने, ‘अर्को कुरा निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ६.४ प्रतिशत छ तर राष्ट्र बैंकको वार्षिक लक्ष्य १२.६ प्रतिशत हो। त्यसकारण यसलाई पनि सुुधार गर्नुपर्ने आवश्यता छ।’

केन्द्रीय बैंकका अनुसार कुल विदेशी विनिमय सञ्चिति पनि बढेको छ। गत असार मसान्तमा १२१५ अर्ब ० करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २.५ प्रतिशतले बढेर २०७९ असोज मसान्तमा १२४६ अर्ब २२ करोड पुगेको छ। 

यसरी चालु आर्थिक वर्षको ३ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ९.६ महिनाको वस्तु आयात र ८.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ। जुुन आर्थिक वर्ष २०७८–७९ को ३ महिनामा बैंकसँग ८.६ महिनाको वस्तु आयात र ७. महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको थियो।

यस्तै समीक्षा अवधिमा चालु खाता ३४ अर्ब २८ करोड रुपैयाँले घाटामा रहे पनि अघिल्लो वर्षको तुलनामा भारी अंकले घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा १ खर्ब ४९ अर्ब ८१ करोडले घाटामा रहेको थियो। 

समीक्षा अवधिसम्म महँगी भने नियन्त्रण नभएको केन्द्रीय बैंकको तथ्यांकले देखाउँछ। अघिल्लो वर्षको असोज महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.२४ प्रतिशत रहेकोमा हालसम्म आउँदा दोब्बरले बढेर ८.५० प्रतिशत पुुगेको छ।

समीक्षा अवधिमा खुद सेवा आय २१ अर्ब ७० करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय २३ अर्ब ३४ करोडले घाटामा रहेको थियो। 

नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री आज सार्वजनिक तथ्यांकबाट अर्थतन्त्रमा केही मात्रामा सुुधारको संकेत देखिएको बताउँछन्। ‘वित्तीय सूूचकहरुले सम्रग अर्थतन्त्रमा सुुधार देखिए पनि चालुु खाता- वस्तु व्यापार, सेवा व्यापार र ट्रान्सफरमा सुधार भएमा मात्र अर्थतन्त्र सबल बन्दै गएका बुुझ्न सकिन्छ’, उनी भन्छन्, ‘तर, अहिले चालुु खाता- वस्तु व्यापार, सेवा व्यापार र ट्रान्सफर घाटामा छन्।’ 

विप्रेषण आप्रवाह बढ्दा शोधनान्तर बचत हुँदा पनि अर्थतन्त्रमा केही मात्रामा भए पनि सुुधारको संकेत मान्न सकिने क्षेत्री बताउँछन्।