काठमाण्डौ । आज सम्पन्न आम निर्वाचनमा प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ उम्मेद्वारी दिएका पूर्वप्रधानमन्त्रीहरुमध्ये झलनाथ खनाल ‘डेञ्जर जोन’मा पर्ने सम्भावना देखिएको छ । 

‘फ्याक्टस् नेपाल’ नामक संस्थाले गरेको ओपिनियन पोलको नतिजाअनुसार इलाम–१ बाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फका उम्मेद्वार पूर्व प्रधानमन्त्री झलनाथ खनालले हार्नसक्ने देखिएको छ । 

सो क्षेत्रमा एमालेका महेश बस्नेत, राप्रपाका तोयानाथ सापकोटा, जनता समाजवादी पार्टीका कमलकुमार राई लगायतले उम्मेद्वारी दिएका छन् । 

यो क्षेत्रमा कुल १ लाख ९ हजार ५३५ मतदाता रहेका छन् । 

फ्याक्टस् नेपालको ओपिनियन पोलको नतिजाअनुसार चुनावमा उठेका अन्य कुनै पनि पूर्व प्रधानमन्त्रीहरुले हार्ने सम्भावना देखिएको छैन । यसको अर्थ एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा एसका अध्यक्ष तथा पूर्व प्रम माधवकुमार नेपाल, माओवादीका अध्यक्ष पुष्पकमल दाहालले हार्ने सम्भावना छैन । 

प्रारम्भिक सर्वेक्षणमा बहालवाला प्रधानमन्त्री शेरबहादुर देउवाको अवस्था पनि राम्रो देखिएको छैन । तर, डडेलधुरामा गरिएको ओपिनियन पोलको पूर्ण नतिजा भने आज राति अबेरसम्म मात्र प्राप्त भइसक्ने फ्याक्ट्स नेपालका एक अधिकारीले जानकारी दिएका छन् ।