– रेखा चन्द

काठमाण्डौ । मर्जर तथा एक्विजिसन प्रक्रियामा रहेका वाणिज्य बैंकहरुले आगामी पुुस मसान्तभित्रै एकीकृत कारोबार गर्ने लक्ष्यका साथ अगाडि बढेका छन्। यसका लागि उनीहरुले मर्जर प्रक्रियालाई अन्तिम चरणमा पुुर्याएका छन्। 

हाल मर्जर प्रक्रियामा १० वटा वाणिज्य बैंक छन्। पुस मसान्तभित्रै एकीकृत कारोबार गर्ने लक्ष्यसहित उनीहरुले मर्जरसम्बन्धी कामकारबाहीलाई तीव्रता दिएका छन्। 

कुमारी बैंक र एनसीसी बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंक, प्रभु बैंक र सेञ्चुरी बैंक, ग्लोबल आइएमई बैंक र बैंक अफ काठमान्डू तथा हिमालयन बैंक र सिभिल बैंक मर्जर प्रक्रियामा छन्। 

नेपाल राष्ट्र बैंकले चालुु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत वाणिज्य बैंकहरु आपसमा गाभ्ने, गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी भई २०७९ पुस मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गरेमा विभिन्न खालका सुुुविधा दिने व्यवस्था गरेको छ।

आउँदो पुसभित्र एकीकृत कारोबार सञ्चालन गरेमा काठमाण्डौ उपत्यकाबाहेकका महानगरपालिका र उपमहानगरपालिकामा एकीकृत कारोबार गरेको मितिले १ वर्षसम्म शाखा कार्यालय खोल्न स्वीकृति लिनु नपर्ने, दुई वा दुईभन्दा बढी वाणिज्य बैंकहरु आपसमा गाभ्ने, गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी भएमा एकपटकका लागि ६५ वर्ष उमेर नाघेका व्यक्ति बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त वा पुनः नियुक्त हुन बाधा नपर्नेलगायतमा छुुट दिने व्यवस्था राष्ट्र बैंकले गरेको छ। 

राष्ट्र बैंकले दिने तिनै छुट सुुविधा उपभोगका लागि पनि बैंकहरु मर्जरको सबै काम सकेर एकीकृत कारोबार सुुरु गर्न तातिएका हुन्। 

मर्जर प्रक्रियामा रहेका वाणिज्य बैंकमध्ये कुमारी र एनसीसी बैंकले पुस १७ गतेभित्रै एकीकृत कारोबार सुरु गर्ने तयारी गरेका छन्।

मारी बैंकका अध्यक्ष अमिरप्राप्त राणाले आउँदो पुस १७ गतेभित्रै एनसीसी बैंकसँग मर्जर प्रक्रिया पूरा गरी एकीकृत कारोबार सुरु गर्ने बताए। 

यस्तै नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंकबीचको मर्जर प्रक्रिया पनि अन्तिम चरणमा पुगेको छ। गत मंगलबार दुुवै बैंकको बसेको सञ्चालक समितिको बैठकले मर्जर प्रक्रियाका क्रममा तयार पारिएको अन्तिम सम्झौता स्वीकृत गरिसकेका छन्। ‘मर्जरसम्बन्धी लगभग हाम्रो सबै प्रक्रिया सकिएको छ’, संयुक्त मर्जर समितिका एक सदस्यले भने, ‘योजनाअनुसार नै साधारणसभा डाकिएकोले पनि पुुस १५ पछि एकीकृत कारोबार गर्ने सम्भावना छ।’ 

दुवै बैंकले आउँदो पुुस ७ गते वार्षिक साधारणसभा डाकेका छन्। 

त्यसैगरी मर्जर प्रक्रियामा रहेका ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू (बीओके)को पनि पुुसभित्रै एकीकृत कारोबार गर्नेगरी काम भइरहेको छ। ग्लोबल आइएमई र बीओकेले पनि यही मंसिर २३ गते एकैदिन वार्षिक साधारणसभा गर्ने भएका छन्। सभाले ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू मर्जर सम्बन्धमा सञ्चालक समितिका तर्फबाट प्रस्तुत प्रतिवेदनउपर छलफल गरी पारित गरी एकीकृत काराबारको मिति तय गर्नेछ।

ेयस्तै मर्जर प्रक्रियामा रहेका प्रभु बैंक, सेञ्चुरी बैंक, हिमालयन बैंक र सिभिल बैंकले हालसम्म साधारणसधा बोलाएका छैनन्। यद्यपि यी बैंकले पनि पुसभित्रै एकीकृत कारोबार गर्ने लक्ष्य राखेका छन्। 

प्रभु र सेञ्चुरी बैंकले पुसभित्रै एकीकृत कारोबार सुुरु गर्नेगरी काम भइरहेको सेञ्चुरी बैंकका एक उच्च अधिकारीले बताए। ‘हाम्रो टार्गेटअनुुुसार पुुसभित्रै एकीकृत कारोबार गर्ने गरी काम गरिरहेका छौँ’, ती अधिकारीले भने, ‘सोहीअनुसार साधारणसभा पनि बोलाउँछौँ।’