काठमाण्डौ । रुसी तेलको मूल्य प्रतिब्यारेल ६० डलरमा सीमित गर्ने जी–७ राष्ट्रहरुले गरेको सम्झौतापछि सोमबार अन्तर्राष्ट्रिय बजारमा उछाल आएको छ।

अन्तर्राष्ट्रिय बजारमा बिक्री हुने ब्रेन्ट क्रुडको मूल्य एसियाली कारोबारमा करिब १ प्रतिशतले बढेको छ। युक्रेनमा भएको हमलापछि रुसमाथि दबाब दिने उद्देश्यले पश्चिमी राष्ट्रहरुले यो सम्झौता गरेका हुन्। जुन सोमबारदेखि लागू भएको छ। 

घट्दो आर्थिक वृद्धिदर र बढ्दो ब्याजदरका बीचमा ओपेक प्लस राष्ट्रहरुले तेल उत्पादन घटाउने आफ्नो निर्णयमा अडिग रहेपछि यो सम्झौता भएको हो । ओपेक प्लस २३ तेल निर्यात गर्ने देशहरुको समूह हो। जसमा रुस पनि समावेश छ। 

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल कति बिक्री गर्ने भन्ने निर्णय गर्न ओपेकको नियमित बैठक बस्ने गरेको छ। 

गत हप्ता जी–७ र अस्ट्रेलियाले एक संयुक्त विज्ञप्ति जारी गर्दै रुसी तेलको मूल्यमा प्रतिब्यारेल ६० डलरको सीमा सोमबारदेखि लागू हुने बताइएको थियो। यो कदमले रुसलाई युक्रेनमा भएको आक्रमणपछि नाफा कमाउनबाट रोक्ने उद्देश्यले उठाइएको हो। 

यस सम्झौताको प्रत्यक्ष अर्थ भनेको प्रतिब्यारेल ६० डलर वा सोभन्दा कम मूल्यमा खरिद गरेको रुसी तेलमात्र जी–७ र युरोपेली संघका ट्यांकरहरुमार्फत पठाउन सकिन्छ। यसका साथै यो मूल्यमा रुसी तेल खरिद गर्नेहरुलाई बीमा कम्पनी र ऋण दिने संस्थाहरुबाट सहयोग लिन अनुमति दिइनेछ।

यस कदमले रुसलाई आफ्नो तेल उच्च मूल्यमा बेच्न अझ गाह्रो बनाउनेछ। किनकि धेरै प्रमुख सिपिङ र बीमा कम्पनीहरु जी–७ देशमा छन्।

जी–७ विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएका देशहरुको समूह हो। यसमा क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, युनाइटेड किंगडम र संयुक्त राज्य अमेरिका सामेल छन्। –एजेन्सी