काठमाण्डौ । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालगन्जको सुर्खेत रोडमा करिब ३५ करोडको लगानीमा ७ तल्ले अत्याधुनिक सेवासुविधासहितको व्यापारिक भवन निर्माण गर्ने भएको छ। 

यसै क्रममा मंसिर २२ गते कम्पनीकी अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहले जग पूजा गर्दै भवन निर्माणको औपचारिक शिलान्यास गरेकी छन्। शिलान्यास कार्यक्रममा कम्पनी अध्यक्ष, सञ्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत, कम्पनीका विभिन्न शाखा कार्यालयका कर्मचारीलगायत सो क्षेत्रका वरिष्ठ अभिकर्ताहरुसहित करिब १०० जनाको उपस्थिति थियो। 

करिब साढे ४ कट्ठा जमिनमा निर्माण गर्न लागेको उक्त अत्याधुनिक भवन, सुविधा सम्पन्न अन्डरग्राउन्ड पार्किङसहितको हुनेछ भने भवनको निर्माण सम्पन्न भएपछि सो भवनमा कम्पनीको कार्यालयको अतिरिक्त अन्य व्यापारिक कार्यालयसमेत सञ्चालन गर्न सकिनेछ।

आधुनिक प्रविधिसहित नेपालगन्जकै नमुना भवनका रुपमा सम्पन्न हुन लागेको हुँदा सो भवन निर्माणपछि नेपालगन्ज लुम्विनी प्रदेशकै व्यापारिक हव बन्न सहयोग पुग्ने प्रक्षेपण गरिएको छ।

रु. ५२ अर्बभन्दा बढी जीवन बीमाकोष रहेको देशकै ठूलो बीमा कम्पनीमध्येको एक नेसनल लाइफ इन्स्योरेन्सले नियामक निकाय नेपाल बीमा प्राधिकरणसँग पूर्वस्वीकृत लिई भवन निर्माण आरम्भ गर्न लागेको हो।