काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले महिला लघुवित्त र महुली लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का गरेको छ।

नेप्सेले कारोबार समयमा लाभांशसम्बन्धी सूचना प्रकाशित गरेको भन्दै महिला लघुवित्त र महुली लघुवित्तको सेयर कारोबार रोक्का गरेको हो। सेयर कारोबार रोक्का गर्दै नेप्सेले दुवै लघुवित्तलाई तीन कार्यदिनभित्र चित्तबुझ्दो स्पष्टीकरण पठाउन निर्देशन पनि दिएको छ। 

धितोपत्र सूचीकरण विनियमावली, २०७५ मा धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णय सिर्जना भएको सोही दिन वा भोलिपल्ट कारोबार खुल्नुअघि संगठित संस्थाले नेप्सेमा पेस गर्नुपर्ने व्यवस्था गरिएको छ। 

महिला लघुवित्तको सञ्चालक समितिको आज बिहान १०ः३० बजे बसेको बैठकले लाभांशसम्बन्धी निर्णय गरी नेप्सेमा ११ः०९ मिनेटमा नट्समार्फत जानकारी पेस गरेको थियो। 

यसैगरी महुली लघुवित्तको सञ्चालक समितिको बैठक भने हिजो दिउँसो २ः३० बजे कारोबार समयमा बसेर लाभांशसम्बन्धी निर्णय गरेर आज कारोबार समयअगावै नेप्सेमा सूचना पठाएको थियो। 

यी दुवैको कार्य धितोपत्र सूचीकरण विनियमावलीमा भएको व्यवस्थाविपरीत देखिएकोले नेप्सेले ती दुवै लघुवित्तको सेयर कारोबार रोक्का गर्दै स्पष्टीकरण पेस गर्न निर्देशन दिएको हो।