काठमाण्डौ । नयाँ वर्ष २०२३ को पहिलो महिनामा नै एक अमेरिकी फर्मको रिपोर्ट अडानी समूहका लागि हानिकारक सावित भएको छ। यो रिपोर्टपछि गौतम अडानीको कम्पनीको सेयरमा यस्तो गिरावट आयो कि उनलाई करिब ५० हजार करोडको घाटा व्यहोर्नुपरेको थियो। 

फरेन्सिक फाइनान्सियल रिसर्च फर्म हिन्डनबर्गको रिपोर्टमा अडानी समूहका कम्पनीहरुमाथि धेरै प्रश्न उठेका छन्। अब अडानी समूहले हिन्डनबर्ग रिसर्चविरुद्ध कानुनी लडाइँ लड्ने तयारी गरिरहेको छ।

भारतको गणतन्त्र दिवस अर्थात २६ जनवरीमा अडानी समूहले यस सम्बन्धमा एक विज्ञप्ति जारी गरेको छ। यसले अनुसन्धान फर्म हिन्डनबर्गविरुद्ध दण्डात्मक कारबाहीका लागि अमेरिकी र भारतीय कानुनअन्तर्गत प्रासंगिक प्रावधानहरुको मूल्यांकन गरिरहेको छ। जसले समूहमा कर हेभन्सको अनुचित प्रयोग र उच्च ऋणमा प्रश्न उठाएको छ।

हिन्डनबर्ग रिसर्चले गत जनवरी २४ मा प्रकाशित गरेको प्रतिवेदनलाई अस्वीकार गर्दै अडानी समूहले जारी गरेको विज्ञप्तिमा यसलाई दुर्भावनापूर्ण भएको उल्लेख गरिएको छ। यो प्रतिवेदन चुनिँदा गलत सूचना र बासी, आधारहीन र निन्दनीय आरोपहरुको दुर्भावनापूर्ण संयोजन हो भनेर थपिएको छ। ‘यो प्रतिवेदन बिना अनुसन्धान नै तयार पारिएको छ। यसको प्रकाशनपछि हाम्रा सेयरधारक र लगानीकर्ताहरुको भावनालाई प्रतिकूल असर पारेको छ’, विज्ञप्तिमा भनिएको छ। 

कम्पनीको फलोअन पब्लिक अफरिङ (एफपीओ) लाई नोक्सान पुर्याउन विदेशी फर्मले आफूहरुलाई हैरा पारेको अडानी समूहले जनाएको छ। अडानी व्यवस्थापनले यस प्रतिवेदनले समूहको लगानीकर्ता समुदाय र आम जनतालाई भ्रममा पार्नुका साथै अडानी समूहका लिडर्सहरुको प्रतिष्ठामा आँच पुर्याएको दाबी गरेको छ। ‘तसर्थ, हामी कानुन बमोजिम सुधारात्मक र दण्डात्मक कारबाहीका लागि सम्बन्धित प्रावधानहरुको मूल्यांकन गर्दैछौँ’, विज्ञप्तिमा भनिएको छ। 

अडानी इन्टरप्राइजेज लिमिटेडले एफपीओमार्फत भारु २ खर्ब उठाउने तयारी गरिरहेको छ। बुधबार यस एफपीओको फ्लोर मूल्य प्रतिसेयर ३ हजार ११२ रुपैयाँ तोकिएको छ। –एजेन्सी