काठमाण्डौ । नेपाल उद्योग परिसंघले पछिल्ला दिनहरुमा उद्यमी–व्यवसायीले आत्मदाह/आत्महत्या गरेको दुःखद् घटनाले नेपाली समाज र उद्योगी–व्यवसायीमा चिन्ता एवं निराशाको वातावरण सिर्जना गरेको जनाएको छ।

परिसंघले आज एक विज्ञप्ति जारी गर्दै ती घटनाबाट दिवंगत भएका उद्यमीहरुको आत्माको चीर शान्तिको कामनासहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ। ‘यसका साथै सम्पूर्ण शोकाकुल परिवारजनप्रति गहिरो समवेदना प्रकटसँगै यस असह्य शोक सहन सक्ने शक्ति प्रदान होस् भनी प्रार्थनासमेत गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ। 

महिनौंदेखि शिथिल रहेको नेपाली अर्थतन्त्रलाई गतिशील बनाउन यतिबेला सरकार र निजीक्षेत्र दुवै पक्षबाट केही सुधारका सकारात्मक प्रयासहरु सुरु भएको अवस्थाका बीच पछिल्ला दिनमा घटेका (आत्मदाह/आत्महत्याका) घटनाले अर्थतन्त्रको विकास र व्यावसायिक वातावरणमा सुधारसँग सरोकार राख्ने सबैलाई झक्झक्याएको परिसंघको भनाइ छ। ‘विगत केही समयदेखि नेपाली अर्थतन्त्र अत्यन्त चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको बेलामा नेपाल सरकारबाट चालु पुँजी कर्जा मार्गदर्शनको परिमार्जन, आयात फुकुवा, एलसी मार्जिन र निक्षेपमा ब्याजदर घट्ने जस्ता कदमहरुले अर्थतन्त्रलाई चलायमान गर्ने संकेत दिएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘यसका साथै पर्यटक आवागमन तथा रेमिट्यान्समा बृद्धि, शोधनान्तर स्थितिमा आएको सुधारलगायतले अर्थतन्त्रमा सकारात्मक सन्देश दिएका छन्। यस्ता सकारात्मक कदमहरु सरकारले क्रमशः अगाडि बढाउँदै लैजाने हाम्रो विश्वास छ र केही महिनामै सरकारले लिएका र लिने कदमहरुले तरलताको स्थिति र समग्र मागमा बृद्धि ल्याई अर्थतन्त्र चलायमान हुनेछ।’

कठिन अवस्थाको सम्वेदनशीलताका बारेमा सरकार र निकायमकीय निकाय पनि जानकार रहेको परिसंघको बुझाइ छ। ‘यस कठिन अवस्थाबाट निकास दिन सबै प्रयासरत छन् भन्ने हाम्रो विश्वास छ। नेपालको निजी क्षेत्र कठिनतम अवस्थालाई चिर्दै अगाडि बढेको विगत छ’, विज्ञप्तिमा उल्लेख छ, ‘सशस्त्र द्वन्द्व, भूकम्प, कोभिड महामारीजस्ता अभूतपूर्व कठिन अवस्थामा पटक–पटक यसको पुष्टि भइसकेको छ। विगतमा जस्तै हालको कठिन स्थितीबाट पनि निजी क्षेत्र बाहिर निष्कने क्षमता राख्दछ र चाँडै बाहिर निष्कन्छ भन्ने हाम्रो विश्वास छ।’ 

निजी क्षेत्र अर्थतन्त्रको बलियो आधार रहेको उल्लेख गर्दै परिसंघले निजी क्षेत्रको ७० प्रतिशतभन्दा बढी राजश्वमा योगदान रहेको जनाएको छ। ‘अर्थतन्त्र शिथिल हुँदा र उद्योगी व्यवसायीहरु निराश हुँदा राजश्वमा मात्रै नभई देशको प्रगतीमा नै नकारात्मक असर पर्छ। उद्योगी–व्यवसायीहरुको मनोबल उच्च राख्ने र अर्थतन्त्रलाई चलायमान बनाउने सबैको दायित्व हो’, परिसंघले भनेको छ, ‘यो जिम्मेवारी निजी क्षेत्रको मात्रै नभई राजनीतिज्ञ, कर्मचारीतन्त्र, वित्तीय संस्था, नागरिक समाजलगायत सबै सरोकारवालाहरुको हो।’

अर्थतन्त्र नाजुक परिस्थितिबाट गुज्रिरहेको बेलामा सबै सरोकारवालाहरुलाई संयमता अपनाई उद्योगी–व्यवसायीहरुलाई यो परिस्थितिबाट माथि उकास्न मद्दत गर्न परिसंघले आग्रह गरेको छ। ‘मानिसको आशा नै जीवनको बाँच्ने आधार भएकाले अगामी दिनमा यस्ता घटना दोहोरिन नदिन पात्र र प्रणाली दुवैमा प्रभावकारी ढंगबाट सुधारका काम तत्काल थाल्न सरकारीसहित मुख्य सरोकारवालाहरुलाई एकीकृत पहल गर्दै अघि बढ्न अपिल गर्छौं’, विज्ञप्तिमा भनिएको छ।