काठमाण्डौ । कामना सेवा विकास बैंकले प्रवाह गरेको करिब ३१ करोड कर्जा डूबेको र त्यसमा संलग्नहरु पक्राउ परेका विषयले दुई सातादेखि बजार तताइरहेको छ। 

झापाका केही ऋणिहरुसँग मिलेमतो गरी कम मूल्यको धितोमा बढी कर्जा प्रवाह भएको विषयले बैंकिङ बजार तातिरहेको हो । 

यो प्रकरणमा संलग्नताको आरोपमा कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत(कार्यकाल पूरा भई विदा बसिसकेका) प्रवीण बस्नेत लगायत १५ जनाविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो । केही दिनअघि बस्नेत झापाको दमक प्रहरीमा गई आत्मासमर्पण गरेका थिए । 

आत्मसमर्पण गरेको केही दिनमै उनी लगायत पहिलो चरणमा पक्राउ परेका चार आरोपीलाई प्रहरीले बिहीबार तारेखमा छाडेको छ । 

तारेखमा छाडे पनि यो प्रकरणको अनुसन्धान गरी प्रहरीले आवश्यक मुद्दा अदालतमा दायर गर्नेछ । अदालतले को दोषी र को निर्दोष भन्ने विषयमा निक्र्यौल पछि गर्ला नै । तर, कामना सेवा विकास बैंकको यो प्रकरणले सञ्चारमाध्यममा जुन हिसाबले प्राथमिकता पायो, त्यसको यथार्थ भने केही भिन्न छ । 

यो प्रकरणमा कामना सेवा विकास बैंकका सीइओ लगायतका उपल्ला स्तरका कर्मचारीहरु नै यो प्रकरणमा संलग्न हुन् कि भन्ने कसैलाई लाग्छ भने त्यो गलत रहेको तथ्य र घटनाक्रमहरुले प्रमाणित गर्छन् ।

पुरानो घटना ताजा बन्यो
यो घटना नयाँ भने होइन । डेढ वर्षअघिदेखि नै सुरु भएको प्रकरण उत्कर्षमा पुगेपछि मात्र यो विषय बाहिर आएको हो । 

नेपाल राष्ट्रबैंक, कामना सेवा विकास बैंक र नेपाल प्रहरीस्थित उच्च स्रोतहरुका अनुसार करिब डेढ वर्षअघिदेखि नै बैंकको दमक शाखाबाट प्रवाह भएका केही कर्जाका फाइलहरुमा शंका लागी बैंक आफैंले यसको अनुसन्धान थालेको थियो । 

केही फाइलहरुमा धितोका लागि राखिएका सुरक्षणहरु हेर्दा ओभरभ्यालुड गरी लोन प्रवाह भएको डेढ वर्षअघि नै देखिएको थियो । त्यसको केही महिनापछिदेखि शंकास्पद फाइलसँग जोडिएका ऋणिहरुले बैंकलाई इएमआई पनि बुझाउन छाडे । त्यसपछि त बैंक झनै गम्भीर बनेर शंकास्पद भनिएका फाइलहरुको अनुसन्धानमा लागेको थियो । 

स्रोतकाअनुसार बैंकले मुख्य कार्यालयबाट टिम नै खटाएर दमक शाखाबाट प्रवाह भएका कर्जाहरुको फाइल अध्ययन गरी फ्रड भएका केशहरु पत्ता लगाउने काम गरेको थियो । 

अनुसन्धानको सुरुवातमै बैंकले प्रदेश नम्बर १ का इञ्चार्ज सुजन राईप्रति शंका गरेको थियो । प्रवीण बस्नेत कामना सेवाको सीइओ भएपछि उनकै जोडबलमा एक वाणिज्य बैंकमा काम गरिरहेका र त्यहाँ पनि विवादमा तानिएका राईलाई प्रदेश नम्बर १ इञ्चार्ज बनाइएको थियो । 

सुजन राईको बसोबास दमकमै रहेको र सोही शाखाबाट प्रवाह भएको कर्जामा कैफियत भेटिएपछि बैंकले शंका लागी जवाफ मागेको थियो । बैंकलाई सुजन राईले दिएको जवाफले समेत केही न केही फ्रड भएको संकेत प्राप्त भइसकेको थियो । 

बैंकका एक अधिकारीका अनुसार प्रदेश नम्बर १ का इञ्चार्जले नै बद्मासी गरेको निश्कर्ष निकाली आन्तरिक अनुसन्धान अगाडि बढाइएको थियो । सो क्रममा सुजन राईले ऋणिहरुबाट लोन प्रवाह गर्दा घूसबापत पैसा समेत लिएको पत्ता लाग्यो । 

राईको जोडबलमा ऋण पाएका ग्राहकहरुसँग पुग्दा उनीहरुले सबै ठीक छ जस्तो गरी जवाफ दिएका थिए । तर, बैंकको टिमले फ्रड पत्ता लगाएपछि अनुसन्धानलाई अगाडि बढाउने र दोषीलाई कारबाही गर्ने उद्देश्यले थप अनुसन्धानका लागि केन्द्रीय बैंक(नेपाल राष्ट्रबैंक)लाई औपचारिक रुपमा आग्रह गरेको थियो । 

राष्ट्रबैंकले थालेको अनुसन्धानमा कामना सेवाको हेड अफिसका केही कर्मचारीहरु समेत सहभागी थिए । सो क्रममा ३ वटा फाइल शंकास्पद भनी किटान भयो। ती तीनै फाइलमार्फत प्रवाह भएको कर्जामा गडबडी भएको राष्ट्रबैंकले निश्कर्ष निकालेको थियो । तर, सोही शाखाबाट प्रवाह भएका थप कर्जाका फाइलहरुमा पनि गडबडी भएको हुनसक्ने राष्ट्रबैंकले आशंका गरी प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआइबी)को सहयोगमा अनुसन्धानलाई अझ वृहत पार्ने निर्णय गरिएको थियो । 

सीआइबीले प्रारम्भिक रुपमा सो प्रकरणमा राष्ट्रबैंकलाई सहयोग हुने गरी अनुसन्धान गरेको थियो । त्यसपछि यो प्रकरण झापामै भएको भन्दै दमक प्रहरीलाई अनुसन्धानको जिम्मा दिइएको थियो । प्रहरीको सहयोग लिएर राष्ट्रबैंकले गरेको अनुसन्धानको क्रममा बैंकको दमक शाखाबाट प्रवाह भएको कर्जाका ११ वटा फाइल शंकास्पद भेटिए । 

ती फाइलबाट प्रवाह भएको कुल कर्जा करिब ३१ करोड रुपैयाँ बराबरको रहेको त्यसपछि पत्ता लाग्यो । त्यसपछि मात्रै यो प्रकरणमा तालुकदार निकायहरु थप गम्भीर भई गहिरो अनुसन्धानमा लागेका थिए । 

कोभिडकालको मौकामा चौका
सरसर्ती हेर्दा दमक शाखाका बैंकका म्यानेजर सञ्जिव निरौला 
र प्रदेश १ इञ्चार्ज राईको मिलेमतोमा ३१ करोड लोन प्रवाह भएको पाइएको थियो ।

उनीहरुले कोभिडकालमा लगानीयोग्य रकम प्रशस्त भएको बेला र मुख्य कार्यालयबाट ती लोनका फाइलहरुमा पेश भएका धितोहरुको मूल्यांकन गर्न अधिकारीहरु दमकसम्म जान नसक्ने अवस्थाको फाइदा उठाएको पाइएको छ । 

‘कोभिडको टाइम भएर हेड अफिसबाट ट्राभल गर्न अप्ठ्यारो थियो । यही अवस्थाको फाइदा उठाएर जानाजान बद्मासी भएको देखिन्छ ।’ बैंकका एक उच्च अधिकारीले बिजशालासँग भने–‘त्यसबेला कोभिडका कारण बैंकलाई पनि आक्रामक विजिनेश गर्नुथियो । लगानीयोग्य रकम प्रशस्त भएको मौकामै फ्रड काम भएको पत्तै भएन।’ 

यो केसमा अनुसन्धानको सुरुवात भने बैंकका पूर्वी नेपालका एक भ्यालुएटरले आत्महत्या गरेपछि भएको थियो । आत्महत्या गर्ने तिनै भ्यालुएटरले हेरेका लोनका फाइलहरु पहिला शंकास्पद देखिएका थिए । त्यसपछि खोज्दै जाँदा लहरो तान्दा पहरो थर्किने शैलीमा थप फाइलहरुको पोल खुलेको थियो । 

कोभिडकालमा गिरोहले बैंक डूबाउने नियतले कागजातमै पनि खेल्ने काम गरेको थियो । मालपोतमा बुझाएको र बैंकमा बुझाएको कागजात नै फरक भेटिएको थियो । 

जब ११ वटा फाइलबाट प्रवाह भएका कर्जामा बदनियत देखियो, ती सबैको मिहीन अध्ययन थालियो । सो क्रममा कुनै पनि फाइललाई सीइओ बस्नेतले अप्रूभ गरेको देखिएन । गिरोहले निकै चलाख्याईपूर्वक ती कुनै पनि कर्जाका फाइल माथिसम्म आउनै नदिई तल तलैबाट सल्टाएको पाइयो । 

तर, सीआइबीले भने ‘ती फाइलहरु सीइओको अनुमतिबिना कसरी अप्रभू भए ? यसमा सीइओको पनि संलग्नता हुनसक्छ’ भन्ने तर्क पेश गर्दै उनलाई समेत अनुसन्धानको दायरामा ल्यायो । बैंकको प्रमुख कार्यकारी भएको हिसाबले सीइओ बस्नेतविरुद्ध पनि पक्राउ पूर्जी जारी भयो । ‘तर, सीइओको यसमा डाइरेक्ट सहभागिता भने देखिन्न ।’ दमक प्रहरीका एक अधिकारीले भने–‘बैंकको नेतृत्व गरेको हिसाबले मात्र उहाँ पर्नु भएको हो । फट्याई उहाँका कर्मचारी, ऋणि बन्ने लगायतका गिरोहले गरेको देखिन्छ ।’ 

लोभलाग्दो विजिनेश दिएका थिए सुजनले
बैंक स्रोतकाअनुसार प्रदेश १ का बैंकका इञ्चार्ज सुजन राईले आक्रामक विजिनेश गरेका थिए । एक वाणिज्य बैंकमा कार्यरत उनलाई उनको विजिनेश ल्याउनसक्ने क्षमतालाई नै हेरेर सीइओ बस्नेतको सिफारिसमा तानिएको थियो । 

जिम्मेवारी पाएको केही समयसम्म त उनले प्रदेश १ बाट निकै राम्रो विजिनेश ल्याए । ‘राम्रो विजिनेश दिएर बैंक व्यवस्थापनदेखि सञ्चालकहरुसम्मको विश्वास जिते । त्यसपछि कोभिडकालमा फट्याई गर्नतिर लागेछन् ।’ बैंकका अर्का एक अधिकारीले भने–‘त्यति राम्रो विजिनेश ल्याउने मान्छेले यो हदसम्मको फट्याई गर्ला भनेर हामीले सोचेनौं ।’

जसले उजुरी हाले, उही प्रहरीखोरमा
बैंकिङ यस्तो विजिनेश हो, जहाँ तल्लोतहका कर्मचारीले गरेको फट्याईको अपजस नेतृत्व गर्ने कार्यकारी अधिकृतले भोग्न तयार हुनुपर्छ । कामना सेवा विकास बैंकको यो लोन प्रकरणमा पनि यस्तै भयो । 

डेढ वर्षअघि यो प्रकरणमा शंका लागी सीइओ बस्नेतले नै आन्तरिक रुपमा अनुसन्धान अगाडि बढाएका थिए । आन्तरिक अनुसन्धानबाट कैफियत देखेपछि इमानदारितापूर्वक त्यसको विषयमा केन्द्रीय बैंकलाई जानकारी दिएका थिए र थप अनुसन्धानका लागि सहयोग मागेका थिए । सीइआइबीसँग पनि यथार्थ पत्ता लगाउन सहकार्य गरेका थिए । तर, यो प्रकरणमा उजुरी दिने बस्नेतलाई नै अन्तिममा प्रहरीले खोरमा हाल्यो । जो उजुरीकर्ता थिए, उनैलाई आरोपी बनाइयो। 

बैंकको वित्तीय स्वास्थ्यमा कस्तो असर गर्छ ?
करिब ३१ करोडको लोन बिग्रिदा राष्ट्रिय स्तरको विकास बैंक रहेको कामना सेवाको वित्तीय स्वास्थ्यमा प्रभाव नपर्ने भन्ने कुरै हुँदैन । तर, यो डेढ वर्षअघिको घटना भएको र बैंकले हालसम्म आधाभन्दा बढी लोन असूलीसकेको छ । जुन जुन धितोबाट लोन असूली हुन सकेन, ती सबैलाई नन् बैंकिङ एसेटको रुपमा आफ्नो वासलातमा समेटिइसकेको छ । करिब ३१ करोडकै लोनको प्रभिजनिङ अघिल्लो वर्षकै वासलातमा भइसकेको छ । 

प्रभिजनिङपछि पनि बैंकले केही ऋणिबाट पैसा असूलिरहेको छ । 

यो प्रकरण सार्वजनिक भई १५ जनाविरुद्ध पक्राउपूर्जी जारी गरिसकेपछि पनि एक ऋणिबाट १ करोड १५ लाख उठिसकेको छ । 

अरु दुई ऋणिले फागुनभित्र साढे ४ करोड तिर्ने प्रक्रिया अगाडि बढाइसकेका छन् । 

‘अन्यबाट पनि केही करोड उठिसकेको छ । १२ करोड बढी धितोबाट उठ्ने अवस्था छ ।’ बैंकका एक अधिकारीले भने–‘समग्रमा हेर्दा बैंकले प्रवाह गरेको कर्जा डूब्ने अवस्था छैन । केही महिना लाग्ला, तर पैसा सबै उठ्छ ।’ 

अघिल्लो वर्षको वासलातमै करिब ३१ करोड लोनकै प्रभिजनिङ भइसकेकोले जति उठेको छ, त्यो सबै बैंकको आम्दानीमा बाँधिएको छ । अब पनि जति उठ्छ, त्यो पनि आम्दानीकै रुपमा आउँछ । 

बैंक व्यवस्थापन र सञ्चालक समितिले बेलैमा लिएको अग्रसरताले कामना सेवा विकास बैंकको ३१ करोड लोन लगभग रिकभर हुने अवस्था बनेको अधिकारीहरु बताउँछन् । ‘यसरी हेर्दा यो प्रकरणले बैंकको वित्तीय स्वास्थ्यमा केही पनि प्रभाव परेको देखिन्न ।’–एक अधिकारीले भने ।