काठमाण्डौ । अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (युएसएआईडी)का प्रशासक सामन्था पावरले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलेसँग शिष्टाचार भेटघाट गरेका छन्।
गत वर्ष दुई देशबीचको कूटनीतिक सम्बन्धको ७५औँ वर्षगाँठ मनाइएको स्मरण गर्दै मन्त्री पौडेलले द्विपक्षीय सम्बन्धलाई अझ सुमधुर तुल्याउने प्रतिबद्धता व्यक्त गरे। ‘नेपालले सन् १९५१ मा प्वइन्ट फोर प्रोग्रममा हस्ताक्षर गरेपछि पहिलोपटक वैदेशिक सहायता प्राप्त गरेको र हालसम्म आइपुग्दा हाम्रा दुई देशबीचको विकास साझेदारीले नयाँ उचाइ प्राप्त गरेको यूएसएआइडीमार्फत विस्तार भएको जीटुजी सहयोग प्रमाण भएको छ’, उनले भने।
पौडेलले विकसित देशहरुले अपनाएको कसिलो मौद्रिक नीतिले नेपालजस्ता कम विकसित देशको अर्थतन्त्रको सुधारको गतिलाई सुस्त बनाएको र यसमाथि विश्वको साझा समस्याका रुपमा रहेको जलवायु परिवर्तनले अरु बोझ थपेको धारणा राखे।
नेपालको सार्वजनिक वित्त प्रणालीलाई विश्वास गरेर सिधै सरकारको कोषमा सहायता प्रदान गर्ने अमेरिकी सरकारको नीतिको प्रशंसा गर्दै पौडेलले नेपालले सन् २०२२ को मे मा यूएसएआईडीसँग द्विपक्षीय सहायता सम्झौतामा हस्ताक्षर गरेपछि आगामी ८ वर्षमा कुल अमेरिकी डलर ६५९ मिलियनबराबरको अनुदान सहायता नेपालको बजेट प्रणालीमार्फत उपयोग गर्ने बताए।
यूएसएआईडी प्रशासक सामन्था पावरले नेपालमात्र जी टु जी सहायता प्राप्त सहायता परिचालन गर्ने देश भएको जानकारी दिए।
मन्त्री पौडेलले २०७२ सालमा नयाँ संविधान जारी भएसँगै जनताको मौलिक हकहरुको प्रत्याभूति गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’को परिकल्पना लिएर विकासको पथमा अघि बढिरहेको बताए। उनले लोकतन्त्रलाई संस्थागत गर्दै जनताको जीवन पद्धतिसँग आबद्ध गर्न सफल भएको साथै भर्खरै तीन तहका निर्वाचनहरु सफलतापूर्वक सम्पन्न गरेको पनि जानकारी गराए।
मन्त्री पौडेलले सहायताका अतिरिक्त वैदेशिक निजी क्षेत्रको लगानी उपयोग गरी नेपाल जलस्रोत विकासका क्षेत्रमा दक्षिण एसियामै क्लिन इनर्जीको स्रोत बन्न सक्ने सम्भावना रहेको कुरा व्यक्त गरे।
भेटघाटका अवसरमा द्विपक्षीय विभिन्न मुद्दाहरुमा पनि छलफल भएको थियो। भेटमा नेपालका लागि अमेरिकी राजदूत, यूएसएआईडी नेपालका मिसन डाइरेक्टरलगायतको उपस्थिति थियो।
7 minutes ago
17 minutes ago
40 minutes ago
56 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
3 hours ago