काठमाण्डौ । लघुवित्त वित्तीय संस्थाहरुको निष्क्रिय कर्जाको अनुपात (एनपीएल)मा भारी वृद्धि भएको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पुस मसान्तसम्मको लघुवित्त वित्तीय संस्थाको गैरस्थलगत सुपरिवेक्षण प्रतिवेदनले यस्तो देखाएको छ।
पुस मसान्तसम्ममा थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुको निष्क्रिय कर्जाको अनुपातमा उल्लेख्य वृद्धि भएको छ। थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुले प्रवाह गरेको कुल कर्जा तथा सापट रकम २०७९ असारको तुलनामा ३.१७ प्रतिशतले वृद्धि भई २०७९ पुस मसान्तमा रु. ५९ अर्ब ७८ करोड पुगेको छ।
समीक्षा अवधिमा उक्त लघुवित्त वित्तीय संस्थाहरुको कुल कर्जा तथा सापटीमध्ये निष्क्रिय कर्जा रु. ५२ करोड अर्थात ०.८७ प्रतिशतमात्र रहेको छ। २०७९ असार मसान्तमा निष्क्रिय कर्जाको अनुपात ०.४१ प्रतिशत रहेको थियो भने २०७८ पुस मसान्तमा यस्तो अनुपात ०.३४ प्रतिशत मात्र रहेको थियो।
समीक्षा अवधिमा निष्क्रिय कर्जा १२१.०२ प्रतिशतले बढेको छ भने सक्रिय कर्जा २.६९ प्रतिशतले बढेको छ। गत आर्थिक वर्षको सोही अवधिमा निष्क्रिय कर्जा १२.०३ प्रतिशतले घटेको थियो भने सक्रिय कर्जा १३.९० प्रतिशतले बढेको थियो।
यसैगरी पुस मसान्तसम्ममा खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुको निष्क्रिय कर्जा रकममा पनि उल्लेखनीय वृद्धि भएको छ। खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुले प्रवाह गरेको कुल कर्जा तथा सापट रकम २०७९ असारको तुलनामा ०.०८ प्रतिशतले घटेर २०७९ पुस मसान्तमा रु.३ खर्ब ९१ अर्ब ४४ करोड पुगेको देखिन्छ।
यसैगरी २०७९ पुस मसान्तमा निष्क्रिय कर्जा रु. १८ अर्ब ३४ करोड अर्थात ४.६८ प्रतिशत रहेको छ। २०७९ असार मसान्तमा निष्क्रिय कर्जाको अनुपात २.५६ प्रतिशत रहेको थियो। समीक्षा अवधिमा निष्क्रिय कर्जाको वृद्धिदर ८२.६२ प्रतिशत छ। जुन गत आर्थिक वर्षको सोही अवधिमा १७.०३ प्रतिशतले बढेको थियो।
हाल ४ वटा थोक कर्जा प्रदायक र ६० वटा खुद्रा कर्जा प्रवाह गर्ने लघुवित्त संस्था सञ्चालनमा छन्।
16 minutes ago
18 minutes ago
29 minutes ago
29 minutes ago
51 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago