काठमाण्डौ । नेपाल पर्यटन बोर्डले म्यानमारको राजधानी यगुनबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सीधा हवाई सेवा सञ्चालनका लागि पहल गरेको छ। 

बौद्ध धर्माबलबी भएको देश म्यानमारबाट सीधा उडान गर्नसके दुवै लुम्बिनीको पर्यटन प्रवर्द्धन गर्न सहयोग मिल्ने अपेक्षासहित बोर्डले यो पहल गरेको हो। यसका लागि बोर्डले मंगलबार नेपालका लागि म्यामारका राजदूत र म्यामारका लागि नेपाली राजदूत, संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका उच्च अधिकारी, लुम्बिनी विकास कोषका पदाधिकारी तथा म्यानमार नेसलन एअरलाइन्सका कार्यकारी प्रमुखसहित सरोकारवालासँग काठमाण्डौमा उच्चस्तरीय छलफल सम्पन्न गरेको छ। 

छलफलमा नेपाली पक्षले म्यानमारबाट भैरहवा सीधा उडानको म्यानमार तयार रहे आवश्यक सहयोगका लागि नेपाल तयार रहेको बताउँदै म्यानमारको टोलीलाई थप प्रक्रिया अगाडि बढाउन आग्रह गरेको छ। 

छलफलमा लम्बिनी विकास कोषका उपाध्यक्ष मैत्य शाक्यपुत्ताले नेपाल र म्यानमारबीच सुमधुर सम्बन्ध रहेको उल्लेख गर्दै सीधा उडान हुन सके म्यानमारबाट लुम्बिनी आउने पर्यटकहरु बढ्ने बताए। 

संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले म्यानमार नेसलन एअरलाइन्सले गौतमबुद्ध विमानस्थलमा उडान गर्न नेपालका तर्फबाट विभिन्न छुट, सुविधा तथा अन्य आवश्यक सहयोग गर्न आफूहरु तयार रहेको बताए। उनले सीधा उडान गर्न सकेमा दुवै देशले पर्यटनका माध्यमबाट फाइदा लिनसक्ने उल्लेख गरे। 

यस्तै म्यामारका लागि नेपाली राजदूत हरिशचन्द्र घिमिरेले म्यानमार भैरहवा सीधा उडानबारे म्यानमारको सरकारी पक्षसँग संवाद भइरहको सन्दर्भमा म्यानमारको टोली नै नेपाल आउनुले उडानका लागि थप बल पुग्ने विश्वास व्यक्त गरे। 

नेपालका लागि म्यानमारका राजदूत सेन ओले सीधा उडान गर्नेबारे आफूहरु सकारात्मक रहेको उल्लेख गर्दै यसको प्राविधिक पक्षको अध्ययनपछि नयाँ सम्भावनाबारे जानकारी गराउने प्रतिबद्धता व्यक्त गरे। 

म्यानमारको नेसनल एअरलाइन्सका कार्यकारी प्रमुख क्याप्टेन कुप खान्मुङले आफूले गौतमबुद्ध विमानस्थल निरक्षण गरेर फर्किएको र सीधा उडानबारे आफूहरु सकारात्मक रहेको बताए। उनले यसका लागि आवश्यक प्राविधिक तथा व्यावसायिक योजनाका साथ छलफल अगाडि बढाइनेसमेत बताए। 

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले बौद्धमार्गी म्यानमारबाट लुम्बिनीमा सीधा उडान गर्नसके धार्मिक पर्यटन प्रवर्द्धन गर्न सघाउपुग्ने उद्देश्यले बोर्डको पहलमा कार्यक्रम आयोजना गरिएको र छलफल सकारात्मक भएको बताए। उनले यो छलफलपछि सीधा उडाननका नयाँ सम्भावना, व्यापार–व्यवसाय तथा अन्य पक्षबारे थप छलफल गर्ने बाटो खुलेकोसमेत बताए। ‘लुम्बिनीलाई केन्द्रमा राखेर ठूलो लगानीमा विमानस्थल बनेको छ तर बुद्धिस्ट कन्ट्रीबाट नै उडान छैनन्’, उनले भने, ‘यो अवस्थामा विमानस्थल सञ्चालन तथा लुम्बिनीको पर्यटन प्रवर्द्धनका लागि हामीले यो पहल गरेका हौँ। छलफल सकारात्मक रहेकोले यसले छिट्टै नयाँ सम्भावनाको ढोका खोल्नेमा हामी आशावादी छौँ।’

छलफलमा नेपाल म्यामार उद्योग वाणिज्य संघका अध्यक्ष शिवकुमार अग्रवाल, प्रथम उपाध्यक्ष रतनलाल अग्रवाल, पर्यटन व्यवसायी तुलसी ज्ञवाली, मोहनवीर थापालगायतले नेपाल म्यानमार सम्बन्धको चर्चा गर्दै म्यानमारबाट सीधा उडान हुन पर्यटनका साथै अन्य आर्थिक गतिविधसमेत बढ्ने बताए।