काठमाण्डौ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ४ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
आज सार्वजनिक तेस्रो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म संस्थाको यो नाफा गत आर्थिक वर्षको यही अवधिसम्मको तुलनामा ९४.५२ प्रतिशतले कम हो। गत वर्ष यही अवधिसम्म संस्थाले ८० करोड २६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।
संस्थाको खराब कर्जा अनुपात (एनपीएल) बढेर १२.०९ प्रतिशत पुगेको छ। गत वर्ष यही अवधिसम्म एनपीएल ३.३३ प्रतिशतमा सीमित थियो। एनपीएल बढ्दा संस्थाको इम्पेयरमेन्ट चार्ज पनि बढेर ८६ करोड १९ लाख रुपैयाँ पुगेको छ। गत वर्ष यही अवधिसम्म यस्तो चार्ज ५ करोड ८८ लाख रुपैयाँले ऋणात्मक थियो।
समीक्षा अवधिसम्म संस्थाको सञ्चालन मुनाफा पनि ९४.३७ प्रतिशतले घटेको छ। गत वर्ष १ अर्ब १४ करोड रहेको यस्तो मुनाफा समीक्षा अवधिसम्म घटेर ६ करोड ४५ लाख रुपैयाँमा सीमित बनेको छ।
यो अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी पनि १०.१९ प्रतिशतले घटेर १ अर्ब ४० करोड रुपैयाँमा सीमित बनेको छ। गत वर्ष यही अवधिसम्म यस्तो आम्दानी १ अर्ब ५६ करोड रुपैयाँ रहेको थियो।
समीक्षा अवधिमा संस्थाले १९ अर्ब ६ करोड रुपैयाँ निक्षेप संकलन गरी २५ अर्ब ५७ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। गत वर्ष यही अवधिमा संस्थाले १८ अर्ब १८ करोड रुपैयाँ निक्षेप संकलन गरी २७ अर्ब १६ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ।
संस्थाले रिजर्भको आकार ५.७० प्रतिशतले घटेको छ। गत वर्ष १ अर्ब ९४ करोड रुपैयाँ रहेको रिभर्जको आकार यो वर्ष घटेर १ अर्ब ८३ करोड रुपैयाँमा खुम्चिएको छ।
चुक्तापुँजी २ अर्ब ६१ करोड रुपैयाँ रहेको संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ४८.७६ रुपैयाँबाट घटेर २.२५ रुपैयाँमा झरेको छ। मूल्य आम्दानी अनुपात (पीई रेसियो) २७७.७८ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १५३.७६ रुपैयाँ रहेको छ।
6 minutes ago
39 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
3 hours ago
3 hours ago
3 hours ago
4 hours ago