काठमाण्डौ । पोखरामा आयोजना हुन गइरहेको नेपाल–चीन फ्रन्डसिप ड्रागन बोट फेस्टिभलको तयारी तीव्र रुपमा भएको छ।

नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकको आयोजना तथा  पोखरा पर्यटन परिषद र चाइना ओभरसिज एसोसिएसनको सहआयोजना एवं होटल एसोसिएसन नेपाल (हान) र नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्सिज (नारा)सँगको सहकार्यमा असार ८ र ९ गते (२३–२४ जुन २०२३ ) हुन लागेको फेस्टिभलको तयारीका सम्बन्धमा जानकारी दिन नेपाल पर्यटन बोर्डमा संयुक्त पत्रकार सम्मेलन आयोजना गरिएको थियो। पत्रकार सम्मेलनमा चिनियाँ दूतावासका डेपुटी चिफ अफ मिसन (डीसीएम) वाङ जिनले नेपाल र चीनबीच लामो समयदेखि आर्थिक, सामाजिक तथा सांस्कृतिक सम्बन्ध रहँदै उल्लेख गर्दै यस प्रकारको कार्यक्रमले दुई देश तथा जनस्तरमा रहको सम्बनध सुमधुर हुनुका साथै नेपालको पर्यटन प्रवर्द्धन गर्न सघाउ पुग्ने बताए। 

डीसीएम वाङ जिनले यस्तो बोट फेस्टिभल ५० भन्दा बढी देश तथा क्षेत्रहरुमा आयोजना हँदै आइरहको जानकारी दिँदै नेपालमा आयोजना गरिएको यो कार्यक्रम दक्षिण एसियामै पहिलो भएको बताए। उनले यो फेस्टिभल एसियन गेममा समेत सहभागी गराइने खेल रहेको जानकारी दिए। 

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले नेपालमा पहिलोपटक आयोजना गर्न लागिएको यस प्रकारको कार्यक्रमले समग्रमा नेपालकै पर्यटनमा नयाँ आयाम थप्ने तथा पोखराको पर्यटनलाई थप चलायमान बनाउन सहयोग पुग्ने अपेक्षा गरेको बताए। उनले यो कार्यक्रम एकपटकका लागिमात्र नभई हरेक वर्ष निरन्तरता दिने गरी अगाडि बढाउने सोच रहेकोसमेत जानकारी दिए। 

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निमार्ण सम्पन्न भएको अवस्थामा यस प्रकारका कार्यक्रमले विदेशीलाई पोखरामा आमन्त्रण गर्न र विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न पनि यस कार्यक्रमले सघाउ पुग्ने अपेक्षा गरिएको रेग्मीले बताए। उनले यो कार्यक्रममा पनि चीनबाट चार्टर उडान गर्ने प्रयास भइरहको जानकारी दिए। 

कार्यक्रममा फेस्टिभलको लोगो तथा प्रवर्द्धनात्मक भिडियोसमेत अनावारण गरिएको थियो। 

नेपालमा चिनियाँ पर्यटक बढाउने उद्देश्यले आयोजना गर्न लागिएको उक्त फेस्टिभल सम्बन्धमा गत वैशाख २१ गते नेपाल पर्यटन बोर्ड र चिनियाँ दूतावासका अधिकारी तथा पोखरा महानगरपालिकाबीच त्रिपक्षीय सम्झौतापत्रमा हस्ताक्षर भएको थियो।