काठमाण्डौ । राजधानीका खाल्डा पुर्ने अनुरोधलाई टार्न ‘जनताको कर तिरेको पैसा खाल्डामा हाल्दिँन’ भनेका काठमाण्डौ महानगरका नवनिर्वाचित मेयर विद्यासुन्दर शाक्यले आफ्ना लागि करिब १ करोड १६ लाख मूल्यको बिलासी गाडी मगाएका छन् । उपमेयर हरिप्रभा खड्गीका लागि समेत उनको आदेशमा काठमाण्डौ महानगरपालिकाले ८५ लाखको गाडी खरीद गरेको छ । 

मेयरको गाडी काठमाण्डौ आइसकेको छ भने उपमेयरका लागि खरीद गरिएको गाडी आउने क्रममा छ । शाक्य एमालेबाट मेयर बनेका हुन् भने खड्गी कांग्रेसबाट उपमेयरमा निर्वाचित भएकी हुन् । जनताको पैसा बिलासी गाडीको खरीदमा उडाउने निर्णयमा भने अरु बेला ३ र ६ को आँकडामा हुने दुुई फरक फरक पार्टीबाट निर्वाचित मेयर र उपमेयरको सहमति देखिएको छ । 

निर्वाचित भएलगत्तै आफूलगायतका निर्वाचित जनप्रतिनिधिलाई महंगो मोवाइल खरीद गर्ने निर्णय गरेपछि उनको लालची व्यवहारको सर्वत्र आलोचना भएको थियो । पार्टी अध्यक्ष केपी ओली र अन्य केन्द्रीय नेताले समेत मोवाइल बाँड्ने निर्णय तत्काल फिर्ता लिन दवाब दिएपछि उनले बाध्य भएर मोवाइल बाँड्ने निर्णय फिर्ता लिनुपरेको थियो । 

तर, महंगो मोवाइल खरीदको निर्णय फिर्ता लिएका उनले आफ्ना लागि टोयोटा कम्पनीको करिब १ करोड १६ लाख मूल्य पर्ने फच्र्यूूनर गाडी खरीद गरेका छन् । गाडी काठमाण्डौ आइसकेको र हाल त्रिपालले छोपेर राष्ट्रिय सभागृह परिसरमा राखिएको बताइएको छ । महानगरपालिकाका एक कर्मचारीका अनुसार गाडीको नम्बर लिने प्रक्रिया सुरु गरिसकिएको छ । उपमेयरको गाडी समेत काठमाण्डौ आइपुुगेपछि दुवैले भदौ पहिलो सातादेखि नयाँ गाडी किन्ने योजना बनाएका छन् । 

ती कर्मचारीका अनुसार महानगरमा मेयरका लागि गाडी हुँदा हुँदै महंगो गाडी खरीद गर्दा विवादमा परिने डरले तत्काल लुकाएर राखिएको हो । 

त्यसो त महानगरमा यसअघि मेयरका लागि राम्रो गाडी हुँदै नभएको चाहि होइन । अहिले पनि मेयर शाक्यले करिब १ करोड मूल्य पर्ने गाडी चढ्दै आएका छन् । उनले चढ्दै आएको गाडीमा कुनै खराबी पनि आएको छैन र बिलासी समेत छ, तर उनमा नयाँ गाडी चढ्ने सौख पलाएको र यहीकारण जनताको तिरेको करबाट १ करोड १६ लाखको गाडी खरीद गर्ने चाँजोपाजो मिलाएका कर्मचारीको भनाई छ । 

‘मेयर साबले आफूलाई मात्र होइन, उपमेयरका लागि समेत ८५ लाखको गाडी मगाउनुुभएको छ ।’ ती कर्मचारीले नाम उल्लेख नगर्ने शर्तमा बिजशालासँग भने–‘मेयर र उपमेयरको गाडी मोहले २ करोड बढी सकिएको छ । चालुु आर्थिक वर्षमा उहाँहरुले आफूहरुको तलबभत्ता तथा अन्य सुविधामा निकै ठूलो बजेट विनियोजन गर्नुभएको छ । जनताका प्रतिनिधि काम गर्न आएका हुन् कि कमाउन र मस्ती गर्न, हामीले बुुझेनौं ।’ उनका अनुसार चालुु आर्थिक वर्षमा जनप्रतिनिधिका लागि गाडी खरीदका लागि महानगरले ७ करोडको बजेट विनियोजन गरेको थियो । यसको अर्थ अब झै ५ करोडको गाडी समेत खरीद गरिनेछ । 

महानगरको मेयरमा भारी मतले विजयी भएलगत्तै विद्यासुन्दर शाक्यलाई पत्रकारहरुले ‘जनप्रतिनिधिले सत्तामा पुुगेपछि गर्ने भ्रष्टाचार’को बिषयमा प्रश्न सोधेका थिए । सो क्रममा उनले भनेका थिए–‘मेरो आफ्नै प्रशस्त सम्पत्ति छ, मैले भ्रष्टाचार गर्नुपर्ने आवश्यकता छैन ।’ 

उनको यो जवाफपछि उनलाई जनताले मतमार्फत दिलाएको विश्वासको सही कार्यान्वयन होला भन्ने लागेको थियो । तर निर्वाचित भएलगत्तै महंगो मोवाइल खरीदको अलोकप्रिय निर्णय गरेर विवादमा तानिएका शाक्य त्यसपछि एकपछि अर्को गर्दै विवादित बनिरहेका छन् । उनको व्यवहारले निर्वाचित भएलगत्तै व्यक्त भएको उनको भनाई तथा प्रतिबद्धता आडम्बर मात्र भएको पुष्टि हुन थालेको छ ।