काठमाण्डौ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सेयर धितो कर्जामा लगाइएको १२ करोडको क्याप हटाउनुपर्ने बताएका छन् ।
नेपाल आर्थिक पत्रकार समाज(सेजन)को नवनिर्वाचित कार्यसमितिसँग बुधबार दिउँसो भएको भेटमा उनले त्यस्तो धारणा राखेका हुन् ।
यसअघि अनौपचारिक रुपमा अर्थमन्त्रालयबाटै १२ करोडको क्याप हटाउने गरी अर्थमन्त्रीले आवश्यक पहल गरिरहेका समाचार बाहिर आइरहेको बेला डा. महतले औपचारिक रुपमै १२ करोडको सेयर धितो कर्जाको क्याप हट्नुपर्ने धारणा सार्वजनिक गरेका हुन् ।
‘हाल कुनै व्यक्तिका लागि १२ करोड मात्र सेयरधितो कर्जा लिन पाउने गरी क्याप लगाइएको छ । यसलाई २०–२२ करोड बनाउँदा के फरक पर्छ र ?’ उनले भनेका छन्–‘अहिले कायम क्यापलाई बढाउनै नहुने भन्ने पनि हुन्छ र ? त्यसको म केही कारण देख्दिँन । १२ करोडको सीमा बढाउँदा त्यसले अर्थतन्त्रलाई सकारात्मक प्रभाव पार्छ भने किन नबढाउने त ?’
सेयर बजार र जग्गामा गरिएको लगानीलाई उत्पादनमूलक नै भन्नुपर्ने तर्क पेश गरेका अर्थमन्त्री डा. महतले यी दुवै क्षेत्रमा चाँडो नाफा गर्नेहरुका कारण विकृति बढेको बताए ।
'सेयर बजारमा म्यानुपुलेसन भएको छ भने जग्गाको मूल्य पनि अस्वभाविक रुपमा बढाइएको छ । यी दुवै प्रवृति ठीक होइनन् ।'- उनले थपे ।
डा. महतले राष्ट्रबैंकले पूँजीबजार लगायतका सेक्टरमा माइक्रो म्यानेजमेन्ट गर्न खोजेको आरोप समेत लगाए । ‘माइक्रो लेभलमा गएर कसैलाई यो गर, त्यो गर, यहाँ योभन्दा बढी गर्न पाइन्न भन्ने कुरा हुँदैन ।’ उनले थपे–‘राष्ट्रबैंकले पछिल्लो समय ल्याएको संसोधित निर्देशिकामा केही कुरा सुधारिएका भए पनि निजी क्षेत्र अझै डराएको अवस्था छ । बजारका लगानीकर्ताको मनोबल माथि उठ्न नसकेको अवस्था छ ।’
पर्यटन र हाइड्रो अर्थतन्त्रका मुख्य खम्बा
अर्थमन्त्री डा. प्रकाशशरण महतले अब देशको आर्थिक गतिविधिले तीब्रता पाउने दाबी गरे ।
राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री डा. महतले भभने, ‘राजनीतिमा एउटा सिस्टम स्थापित भएको छ । अब सकारात्मक बहसको आवश्यकता छ । त्यो भनेको ‘हामी गर्न सक्छौं, गर्न सकिन्छ ।’ भन्ने विषयमा छलफल व्यापक बनाउनुपर्छ । देशमा यसले सकरात्मक सन्देश फैलाउँछ । जब आत्मविश्वास बढ्छ, आत्मविश्वास बढ्यो भने आम्दानी गर्न सकिन्छ, आम्दानी भयो भने खर्च गर्न गरिन्छ । पूँजी छ भने लगानी गर्न गरिन्छ ।’
सुशासन, पारदर्शिता र कानुनको शासनलाई मध्यनजर राखेर सरकार अगाडि बढेको मन्त्री डा. महतले स्पष्ट पारे । उनले भने, ‘हाम्रो आर्थिक रुपान्तरणको चारवटा खम्बा पर्यटन, हाइड्रो, सूचना प्रविधि र एग्रो विजनेश स्पष्ट र पारदर्शीरुपमा छन् ।’
6 minutes ago
20 minutes ago
52 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago