काठमाण्डौ । उत्तर कोरियाले परीक्षणको रुपमा तथा अमेरिकालाई मनोवैज्ञानिक दवाब दिने उद्देश्यले पड्काएको हाइड्रोजन बमका कारण सुनको भाउ बुम भएको छ । अमेरिका र उत्तर कोरियाबीच बढ्दो तनावका बीच केही दिनदेखि निरन्तर बढिरहेको सुनको भाउ उत्तरकोरियाको परीक्षण बम विस्फोटनका कारण अझ बढ्न पुुगेको हो । तनावको अवस्था यथावत रहेकोले सुनको भाउ अझ माथि पुुग्नसक्ने प्रक्षेपण गरिएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका विशिष्ट सदस्य तेजरत्न शाक्यले कोरियाले प्रहार गरेको हाइडोजन बम सुनमा बिस्फोट भएको बताए । 'कोरियाले हाइडोजन बम हान्दा सुन उकालो यात्रा अझ तीव्र भएको छ ।' उनले भने-'अन्तराष्टिय बजारमै भाउले उच्च विन्दू चुमेपछि नेपालमा समेत त्यसको असर परेको हो ।' 

शाक्यका अनुसार अन्तराष्टिय बजारमा सोमबार सुनको भाउ प्रति औंस १३३४ डलर पुगिसकेको छ । 'आइतबारको तुलनामा सोमबार मात्रै सुनको भाउ प्रति औंसमा ९ डलरले बढिसकेको छ ।' अन्तराष्टिय बजारमा सुनको भाउ प्रति औंस १३५० डलर पुुग्ने प्रक्षेपण गरिएको छ । उनले थपे-'त्यसो भयो भने नेपाली बजारमा समेत केही दिनमै सुन प्रति तोलाको ५८ हजार रुपैयाँको उचाईमा पुुग्नेछ ।' 

उनले बाढी तथा डूूबान र २ नम्बर प्रदेशको स्थानीय चुनावको कारण ठूला चाडपर्वको मुखमा पनि सुनको आन्तरिक माग भने बढ्न नसकेको बताए । अहिले बजारमा सुनमा भइरहेको मूल्यवृद्धिको प्रमुख कारण नै उत्तर कोरिया र अमेरिकाबीचको बढ्दो तनावपछि बिग्रिएको अन्तराष्टिय आर्थिक क्षेत्रको माहौल रहेको उनको भनाई छ । 

'बढ्दो तनावका कारण अधिकांश लगानीकर्ताहरुले सेयर र डलरमा गरेको लगानी झिकेर सुरक्षित लगानी मानिएको सुनमा पैसा खन्याइरहेका छन् ।' उनले भने-'यहीकारण सुनको माग ह्वात्तै बढेको छ र सोही अनुसार मूल्य पनि उकालो लागिरहेको छ ।' 

५० दिनमै ३५०० बढ्यो
अन्तर्राष्ट्रिय क्षेत्रको राजनीतिक वातावरण बिग्रिएका कारण विगत ५० दिनको अवधिमा सुनको मूल्य घरेलु बजारमा प्रति तोलामा ३५ सय रुपैयाँले बढिसकेको छ । साउन १ गते प्रति तोला ५३ हजार ५ सय रहेको सुनको मूल्य भदौ १९ गते सोमबार ५७ हजार हजारको उचाईमा पुुगिसकेको छ । यसरी ५० दिनको अवधिमै सुन सञ्चित गर्नेहरुले ७ प्रतिशतले आफ्नो सम्पत्ति बढाएका छन् । 

यसकारण अझै बढ्नसक्छ
१.अन्तर्राष्ट्रिय क्षेत्रका कमोडिटी विज्ञहरुलाई उद्धृत गर्दै मिडिया रिपोर्टहरुमा लेखिए अनुसार अमेरिका र उत्तर कोरियाबीच बढिरहेको तनावको वातावरणले अन्तर्राष्ट्रिय क्षेत्रकै राजनीतिक वातावरण धूमिल बन्दै गएको छ। यो तनावको अवस्था अझै केही सातासम्म रहने अनुमान गरिएको छ । यहीकारण विश्वभरका प्रमुख सेयर बजारमा बिक्रीको चाप ह्वात्तै बढेको छ । लगानीकर्ताहरुले इक्वीटी मार्केटबाट पैसा निकालेर सेफ हेभन(सुरक्षित स्वर्ग)को रुपमा चिनिएको सुनमा लगानी गरिरहेका छन् । यहीकारण आगामी दिनमा समेत सुनको मूल्यमा अझ तीव्रता आउन सक्नेछ । 

२.अमेरिकामा मुद्रा स्फितिको डाटा कमजोर बन्दै गएको छ । यही कारण आउने दिनमा यूएस फेडद्वारा ब्याजदरमा बढोत्तरीको संभावना निकै न्यून छ । यो अवस्था सुनका लागि सकारात्मक साबित हुनसक्छ । 

३.अघिल्लो आर्थिक वर्ष नेपालको सेयर बजारले ऐतिहासिक उचाई चुमेको थियो । अहिले समेत नेप्से परिसूचक १६ सयभन्दा माथि नै छ । धेरै कम्पनीको मूल्य यो बेला बढेको छ । तर, कतिपयले तीव्र उतारचढाव समेत भोगेका छन् । तर, यो अवधिमा सुनको मूल्यमा खासै ठूलो बढोत्तरी भएको छैन । वैश्विक अनिश्चितताको असर घरेलु बजारमा समेत पर्नसक्छ, जसका कारण सुनमा बढी फाइदा हुने देखेर लगानीकर्ताले सुरक्षित लगानीका लागि सुनको खरिदारी बढाउन सक्छन् । यदि यस्तो भयो भने स्वभाविक रुपमा माग बढी मूल्य वृद्धिलाई समेत टेवा मिल्नेछ । 

४.नेपालमा हरितालिका तिज लगायतका प्रमुख चाडपर्व सुरु भइसकेका छन् । योसँगै विवाहको सिजन समेत सुरु भएको छ । आउने दिनमा धनतेरष(दीपावली), लक्ष्मीपूजा, विवाहको मौसम, तिज लगायतको अवसरमा सुनको माग बढ्नेछ । यसले समेत सुनको मूल्य बढाउन मद्धत पुुग्नेछ ।