काठमाण्डौ । लगानीकर्तालाई गलत सूचना दिएर गलत काम गरेको बिषयमा धितोपत्र बोर्डको कारबाही छल्न सफल नेपाल इन्भेष्टमेन्ट बैंकले आगामी कात्तिक ७ गते वार्षिक साधारणसभा बोलाएको छ । 

यो बैंकले मंगलबार एक सूचना प्रकाशित गर्दै काठमाण्डौको प्रदर्शनीमार्गस्थित राष्टिय सभा गृहमा कात्तिक ७ गते बिहान १० बजे ३१ औं वार्षिक साधारणसभा आह्वान गरेको हो । 

साधारणसभामा बैंकले १५ प्रतिशत बोनस सेयर र २५ प्रतिशत नगद लाभांश वितरणको यसअघिको संचालक समितिको निर्णयलाई पारित गराउन प्रस्ताव पेश गर्नेछ । यस्तै, बैंकको जारी र चुक्तापूँजी वृद्धिको प्रस्ताव समेत पेश हुनेछ । 

वार्षिक साधारणसभाले संस्थापक सेयरधनीको तर्फबाट ४ संचालक समेत नियुक्त गर्ने बताइएको छ ।  

साधारणसभा आह्वानसँगै यो बैंकले सो प्रयोजनका लागि आगामी असोज १८ गतेलाई बुक क्लोजको मिति तोकेको छ । यसको अर्थ असोज १७ गतेसम्म यो बैंकको सेयर खरीद गरेका वा आफ्नो नाममा नामसारी गरेकाहरुले मात्र बोनस सेयर, नगद लाभांश प्राप्त गर्न तथा साधारणसभामा सहभागी हुन पाउनेछन् । 

हाल यो बैंकको चुक्तापूँजी ९ अर्ब २४ करोड रुपैयाँ रहेको छ । १५ प्रतिशत बोनस सेयरको पूँजीकरणपछि चुक्तापूँजी वृद्धि भई १० अर्ब ६२ करोडको उचाईमा पुुग्नेछ । 

इन्भेष्टमेन्ट बैंकले आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमाससम्म ३ अर्ब २९ करोड खूद नाफा आर्जन गरेको थियो ।