काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष को हो ? यो प्रश्न भूइँमा खस्न नपाउँदै धेरैले भन्लान्: भवानी राणा । महासंघको इतिहासमै पहिलो महिला अध्यक्ष बनेकी राणाको पक्षमा आउने यो उत्तर व्यवहारमा भने ठीक उल्टो छ । अर्थात, उद्योग वाणिज्य महासंघ पछिल्लो समय राणाले होइन, एक छायाँ अध्यक्षले चलाउने गरेका छन् । अध्यक्षलाई पाखा लगाएर आफ्नो बर्चश्व लाद्नसक्ने त्यस्ता शक्तिशाली छायाँ अध्यक्ष हुन् चण्डीराज ढकाल । 

राणा नेतृत्वको टिमलाई चुनावमा जिताएर सत्तामा पुर्याएको जस पाएका ढकाल महासंघका पछिल्ला हरेक निर्णयमा हाबी हुने गरेका एक पदाधिकारीले बताए । ती पदाधिकारीले महासंघको जिल्ला नगर उपाध्यक्ष पदको चुनाव गराउने हतारो समेत चण्डी ढकालकै जोडबलले भएको समेत खुलासा गरेका छन् । 

महासंघका अधिकांश पदाधिकारीले केही दिन कुरेर मात्र जिल्लानगर उपाध्यक्ष चुनावको बिषयमा निर्णय गरौं भने पनि सबैलाई थर्काउँदै चण्डीराज ढकालले अध्यक्ष राणालाई चुनाव आगामी फागुन २५ गतेका लागि तोक्न आदेश दिएका बुझिएको छ । शक्तिशाली छायाँ अध्यक्षको निर्देशनपछि राणाले समेत चूपचाप उपाध्यक्ष पदको चुनाव फागुन २५ गते गर्ने निर्णय गराई तयारी थाल्न समेत कर्मचारीहरुलाई निर्देशन दिएकी छिन् । 

महासंघले गर्न लागेको यो चुनाव गैरकानूनी रहेको एक कानून व्यवसायीले बताए । उनका अनुसार महासंघले फागुन २५ गते यो चुनाव गराउँदा कानूनको मात्र धज्जी उड्दैन अदालतीय प्रक्रियामाथि नै हस्तक्षेप समेत ठहरिनेछ । अर्कोतर्फ, अदालत भन्दा आफूलाई माथि देखाउने र अदालतको अवहेलना समेत हुने देखिन्छ । 

कसरी गैरकानूनी ?
उद्योग वाणिज्य महासंघले गर्न लागेको जिल्लानगर उपाध्यक्षतर्फको चुनावको बिषयको मुद्धा अदालतमा विचाराधीन छ । उद्योग वाणिज्य महासंघको गत महाधिवेशनबाट जिल्ला नगर उपाध्यक्ष पदमा निर्वाचित प्रमोद श्रेष्ठ नेकपा एमालेको तर्फबाट एक स्थानीय निकायको मेयरको उम्मेद्वार भएको भन्दै महासंघ नेतृत्वले उनलाई स्पष्टीकरण सोध्ने र निलम्बन गर्ने काम गरेको थियो । महासंघको विधान विपरीत दलको उम्मेद्वार भएको भन्दै आफ्ना विरोधी समूहका श्रेष्ठलाई ढकालकै सल्लाहमा निलम्बनको निर्णय गरिएको थियो । तर, प्रमोदले आफूमाथि अन्याय भएको भन्दै अदालत गुुहारेका थिए । अदालतमा परेको सो मुद्धामाथि आगामी चैत पहिलो साता अन्तिम बहस हुँदैछ । 

अदालतले नटुंग्याइसकेको बिषयमा हस्तक्षेप गर्दै जिल्ला नगर उपाध्यक्षको चुनाव गराउन खोज्नुु नै एफएनसिसीआई नेतृत्वको गैरकानूनी काम भएको कानून व्यवसायी बताउँछन् । ‘अदालत र कानूनी राज्यको सम्मान गर्नेले विचाराधीन मुद्धामा अदालतको फैसला कुर्नुपथ्र्यो ।’ ती कानूनी व्यवसायीले भने–‘अदालतमा विचाराधीन बिषयमा एफएनसीसीआईले जबरजस्ती गर्न खोज्नुु अदालतको समेत अवहेलना हो ।’ 

एक पदाधिकारीका अनुसार एफएनसिसीआईको बैठकमा अध्यक्ष राणाले उपाध्यक्ष चुनाव गराउने प्रसंग निकाल्दा अधिकांशले अदालतको आदेश कुर्नुुपर्ने सुुझाव दिएका थिए । तर, पदाधिकारीहरुलाई थर्काउँदै छायाँ अध्यक्ष चण्डी ढकालले आफूले सर्वोच्च अदालतका न्यायाधीशहरुसँग कुरा मिलाइसकेको र फैसला आफूहरुकै पक्षमा आउने ठोकुुवा गर्दै चुनाव गराउने निर्णय गर्न दवाब दिएका थिए । 

कतिपय पदाधिकारीले महासंघका साधारणसभा चैत २८ गते रहेको, बरु सोही दिन जिल्लानगर उपाध्यक्षको समेत चुनाव गराउनुुपर्ने समेत राय पेश गरेका थिए । तर, तिनीहरुलाई समेत चण्डीले सातो जाने गरी थर्काए । उनले ‘प्रमोद श्रेष्ठ आफैं नेपाल चेम्बर अफ कमर्समा गइसक्यो, उसले दाबी विरोध गर्दैन’ भन्दै चुनावको मिति तोक्न दवाब दिएका थिए । उपाध्यक्ष प्रमोद श्रेष्ठ हालै नयाँ संरचनाअनुसार पुनगर्ठित नेपाल चेम्बर अफ कमर्सको प्रदेश संयोजकमा रुपमा गएका छन् । तर, उनी जुनसुकै संगठनमा गए पनि अदालतको फैसलासम्म कुर्न नसक्ने ढकाल र राणाको कार्यशैलीलाई महासंघकै एक पदाधिकारीले ‘निरकुंशताको हद’ भनेका छन् । 

‘महासंघ अध्यक्ष राणा कमजोर बन्दा ढकालको निरकुंशतन्त्र फस्टाएको छ ।’ ती पदाधिकारीले भने–‘निर्वाचन अधिकृत वीरेन्द्रकेशरीले समेत अदालतको फैसला कुर्नुपर्ने सुुझाव दिंदा उनलाई पनि थर्काउने काम भयो । ढकालको निरकुंशताले महासंघको साख अझ कमजोर हुँदै गएको छ।’ 

ढकाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष हुन् । 

के भन्छन् ढकाल र राणा ?
महासंघको पछिल्लो गैरकानूनी निर्णयको बिषयमा बुुझ्न खोज्दा ढकाल र राणा दुवैले फोन उठाएनन् । 

र, यो पनि पढ्नुहोस् 
-ब्रेकिङ: सरकारी बैंकको साढे २ अर्ब बढी पचाएका चण्डी ढकालविरुद्ध अख्तियारमा उजुरी