काठमाण्डौ । सर्वोच्च अदालतले बाटो खोलिदिएपछि लामो समयदेखि रोकिएको उद्योग वाणिज्य महासंघको जिल्लानगर उपाध्यक्षको निर्वाचन फागुन २५ गते शुक्रबार हुँदैछ । जिल्लानगरतर्फको कमाण्ड सम्हाल्न चुनावी मैदानमा किशोर प्रधान र निरक केसी उत्रिसकेका छन् । प्रधान र केसीलाई आफ्नो तीर बनाएर स्वार्थ पूरा गर्ने समूह महासंघमै रहेका कारण योपटकको चुनाव निकै रोचक हुने देखिएको छ । 

महासंघभित्र एउटै समूहजस्तो देखिए पनि चुनावको क्रममा प्रधान र केसी समूहमा महासंघकै पदाधिकारी र खेलाडीहरु विभाजित भएका छन् । चुनावमा भावी अध्यक्षको आकांक्षीहरु सबैभन्दा धेरै सम्हालिएका छन् भने यही मौकामा चण्डी ढकालले भने आफ्नो स्वार्थ पूरा गर्ने प्रयास गरिरहेका उच्च स्रोतहरुले जनाएका छन् । 

यसअघि पनि महासंघले जिल्लानगर उपाध्यक्षको चुनाव गराउन खोजेको थियो । तर, निलम्बित उपाध्यक्ष प्रमोद श्रेष्ठले सर्वोच्चमा रिट हालेपछि अदालतले अन्तरिम आदेश दिई रोकिदिएको थियो । सो बेला पनि चुनावी मैदानमा प्रधान र निरक केसी उत्रिइसकेका थिए । जिल्ला जिल्लाबाट प्रतिनिधि(मतदाता)हरु लाखौ खर्च गरी काठमाण्डौ आएका थिए । अदालतको आदेशका कारण उनीहरु जिल्ला फर्किए, निरक र प्रधानलाई चलाउनेहरु समेत केही महिना थन्किए । 

तर, अब चुनाव रोकिने संभावना टरिसकेको छ । यो क्रममा यसअघिको चुनावी अभियानमा निरक केसीलाई खुलेआम समर्थन गर्ने वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा यसपटक खुलेर बाहिर आएका छन् । अघिल्लोपटक निर्वाचन हुनै लाग्दा केसीलाई समर्थन गरेका गोल्छा यसपटक किन चूप भएका होलान् ? स्रोतको दाबीलाई आधार मान्ने हो भने यसमा पूर्व अध्यक्ष चण्डी ढकालको खेल रहेको देखिएको छ । उनले गोल्छालाई ‘तिमी अध्यक्ष हुने मान्छे, चूपचाप बस’ भन्दै थर्काएपछि उनी भावी अध्यक्षमा अवरोध होला भनेर मौन रहेका बताइएको छ । ढकालले घुमाउरो रुपमा निरक केसीको समर्थन गरे, विधान संसोधन गरेर अध्यक्ष हुन नदिनेसम्मको चेतावनी गोल्छालाई दिएका स्रोत दाबी गर्छ ।  

पछिल्लो समय भूसको आगो झै मन्द गतिमा महासंघभित्र वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने विधान पुनः संसोधनको मुद्धा पेचिलो बन्दै गएको छ । महासंघकै केही पूर्व अध्यक्ष, हालका अधिकांश पदाधिकारी निकट अग्रज उद्योगी व्यवसायी समेत विधान संसोधनको भित्री लविंगमा लागेका छन् । चण्डी ढकाल स्वयम् समेत विधान संसोधन गर्नुपर्छ भन्दै यहीबेला हिँडिरहेका छन् । ढकालले हिजोआज गोल्छालाई निरक केसीको पक्षमा उभिए विधान संसोधनको वातावरण बनाई अध्यक्ष बन्न नदिने भन्दै थर्काउने गरेका गोल्छा निकट स्रोतले जनाएको छ । ‘अध्यक्ष बन्न नपाइने डरका कारण गोल्छा योपटकको चुनावमा खुलेर निरकको पक्षमा लागेका छैनन् । तर, गोल्छाजीको केसी समूहलाई राम्रै लगानी रहेको छ ।’ उच्च स्रोतले भन्यो–‘बिहीबार मात्रै गोल्छाले निरक केसीलाई चुनाव खर्च भनेर १५ लाख भन्दा बढी आर्थिक सहयोग गरेका छन् । केही दिनअघि पनि १५ लाख दिएका थिए ।’

यसपटक निरकको पक्षमा चन्द्र ढकाल समेत देखिएका छन् । उनी समेत आफ्नो भावी अध्यक्ष हुने सपनालाई साकार पार्न बलियो उम्मेद्वारको रुपमा हेरिने किशोर प्रधानलाई पन्छाएर सुरक्षित हुन चाहन्छन् । यहीकारण उनले समेत केसीलाई फण्डिङ गरिरहेका स्रोत बताउँछ । केसीले जिल्लानगर उपाध्यक्षमा जिते आफूलाई अर्को कार्यकालमा वरिष्ठ उपाध्यक्ष बन्न सहज हुने चन्द्र ढकालको बुुझाई छ । तर, किशोर प्रधानले जितेमा उनलाई चण्डीराज ढकालले वरिष्ठ उपाध्यक्षको रुपमा उतार्नेछन् र यस्तो भएको खण्डमा चन्द्र ढकाललाई अप्ठ्यारो पर्नसक्छ । यहीकारण चन्द्र ढकालले समेत निरक केसीलाई भित्री सहयोग गरिरहेका र उनलाई फण्डिङ समेत गरेका स्रोत दाबी गर्छ । पूर्व अध्यक्ष पशुपति मुरारका समेत केसीकै पक्षमा लागेका छन् । गोल्छा, मुरारका र चन्द्र ढकाल निरकलाई भोट हाल्न भनेर लगातार जिल्ला अध्यक्षहरुलाई फोन लगाइरहेका छन् । 

गोल्छा र चन्द्र ढकाल निरक केसीको पक्षमा लागे पनि चण्डीराज ढकालले भने किशोर प्रधानलाई जुनसुकै हालतमा जिताएरै छाड्ने प्रण गरेका बुझिएको छ । तर, किशोर प्रधानको पक्षमा उति राम्रो माहौल भने देखिएको छैन । प्रधानको पकड क्षेत्र मानिएको प्रदेश १ र २ बाट समेत उनलाई राम्रो मत नआउने आँकलन गर्न थालिएको छ । हुँदा हुँदा उनको गृहनगर विराटनगरबाटै समेत उनलाई आउने मत स्पष्ट रुपमा विभाजित हुने देखिएको स्रोत दाबी गर्छ । पवनकुरमा सारडा लगायतका उद्योगीले प्रधानलाई भोट नदिने बताइसकेका छन् । निरकले ४, ५, ६ र ७ नम्बर प्रदेशमा राम्रो रहेको बुझिएको छ । ३ मा प्रधानको निकै राम्रो छ ।