काठमाण्डौ । राजनीतिक विज्ञापन गर्ने कम्पनीका करोडौं फेसबुक प्रयोगकर्तासँग सम्बन्धित डेटा उनीहरुको सहमतिबिना आफूसँग राखेको खबर आएपछि अमेरिकी तथा यूरोपियन सांसदहरुले फेसबुक इंकसँग जवाफ मागेका छन् । यो खबर बाहिरिएसँगै अमेरिकी सोसल मिडिया कम्पनी फेसबुकको सेयर मूल्य सोमबार ७ प्रतिशतले घटेको छ । सेयरको मूल्य घटेका कारण फेसबुकका सीइओ मार्क जुकरबर्गले एकदिनमै ६.०६ अर्ब डलर सम्पत्ति गुमाएका छन् । 

अमेरिका र यूरोपका सांसदहरुले जुकरबर्गलाई आफूहरुसामु प्रस्तुत हुन समेत आग्रह गरेका छन् । उनीहरु जान्न चाहन्छन् कि ब्रिटेनको क्याम्ब्रिज एनालिटीकाले डोनाल्ड ट्रम्पलाई अमेरिकाको राष्टपतिको चुनाव जित्न कस्तो खालको सहयोग गरेको थियो ।

फेसबुकले यसअघि नै भनिसकेको छ कि २०१६ मा अमेरिकी राष्ट्रपतिको चुनाव हुनुुभन्दा पहिला उसको प्लेटफर्मलाई प्रचारप्रसार गर्ने रुसी मानिसहरुले कुन हिसाबले प्रयोग गरेका थिए । तर, यही बिषयलाई लिएर यसअघि जुकरबर्ग प्रश्नको घेराबन्दीमा परेका थिएनन् । यो घटनापछि सोसल नेटवर्किङ साइटहरुमाथि निकै कडा नियमन गर्नुपर्ने दवाब समेत बन्न सक्दछ । 

ब्रिटेनका एक सांसदले सोमबार भनेका कुरा उद्धृत गर्दै अन्तराष्टिय मिडिया रिपोर्टमा जनाइए अनुसार देशको प्राइभेसी वाचडगलाई अधिक शक्ति प्राप्त हुनुपर्छ । डेमियन कालिन्स नामका सांसदले भनेका छन्–‘हामीले ब्रिटेनमा सूचना आयोगलाई अझै शक्तिशाली बनाउने बिषयमा विचार गर्नुपर्ने भएको छ । यसको उपयुक्त समय अब आएको छ ।’