काठमाण्डौ । बैंकिङ, वित्तीय वा बीमा सम्बन्धी व्यवसाय गर्ने संगठित संस्था(बित्तीय संस्था) बाहेकका अन्य संगठित संस्थाहरुको हकप्रद निष्काशन तथा थप सार्वजनिक निष्काशन (फर्दर पव्लिक इस्यू)लाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउन भन्दै नेपाल धितोपत्र बोर्डले मापदण्ड तोकेको छ । 

बैंक, बित्त र बिमा बाहेकका सूचिकृत कम्पनीले हकप्रद जारी गर्दा वा सार्वजनिक निश्कासनलाई व्यवस्थित बनाउन आवश्यक नीतिगत व्यवस्था सिफारिश गर्न एक समिति नै बनाइएको थियो । सो समितिले तयार गरेको प्रतिवेदनको सिफारिश बमोजिम बोर्डले मंसिर २१ गते धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को नियम १७, १८ र १९ बमोजिम हकप्रद निष्काशन तथा नियम १४ बमोजिम थप सार्वजनिक निष्काशन (फर्दर पव्लिक इस्यू)का लागि त्यस्ता संस्थाले हकप्रद शेयर वा फर्दर पव्लिक इस्यू मार्फत प्राप्त हुने रकम संगठित संस्थामा वा संगठित संस्था प्रवद्र्धित परियोजनामा वा दोश्रो कम्पनीको शेयर खरिदमा वा सहायक कम्पनी तथा सहायक कम्पनी प्रवद्र्धित परियोजनामा लगानी गर्ने भएमा त्यस्ता संगठित संस्था, दोस्रो  कम्पनी वा कम्पनी ऐनको व्यवस्था अनुसार शेयर स्वामित्व भएको सहायक कम्पनी तथा सहायक कम्पनी प्रवद्र्धित परियोजनाले समेत विभिन्न शर्त तथा मापदण्डहरु पूरा गरेको हुनुपर्ने व्यवस्था गरिएको हो । 

यो व्यवस्थाबाट बित्तीय संस्था बाहेकका अन्य सूचिकृत संगठित संस्थाहरुले हकप्रद शेयर निष्काशन तथा थप सार्वजनिक निष्काशन (फर्दर पव्लिक इस्यू) मार्फत पूँजी बृद्धि गर्दा पूरा गर्नुपर्ने शर्त तथा मापदण्डहरु सम्बन्धमा स्पष्ट नीतिगत व्यवस्था हुन गई यस सम्बन्धी लगानी व्यवस्थित हुने बोर्डले दाबी गरेको छ । 

बोर्डले तोकेको मुख्य शर्त र मापदण्ड यस्ता छन् :

  • हकप्रद शेयर वा फर्दर पव्लिक इस्यू सम्बन्धमा साथै उक्त निष्काशनबाट प्राप्त हुने कूल रकमको उपयोग सम्वन्धमा स्पष्ट वित्तीय योजना तथा रणनीतिहरु साधारण सभाबाट पारित गराएको हुनुपर्ने ।
  • हकप्रद निष्काशन अनुपातको औचित्य पुष्टि गर्ने आधारहरु प्रष्ट हुनुपर्ने ।
  • प्राथमिक निष्काशन गरेको कम्तीमा २ वर्ष पूरा भएको हुनुपर्ने ।
  • नियमानुसार क्रेडिट रेटिङ्ग गरेको हुनुपर्ने ।
  • जारी पूँजी शत प्रतिशत चुक्ता भैसकेको हुनुपर्ने ।
  • प्रचलित कानून बमोजिम परियोजना निर्माणको लागि कुनै निकायबाट इजाजत, अनुमति वा स्वीकृति लिनुपर्ने भएमा त्यस्तो इजाजत, अनुमतिपत्र वा स्वीकृति लिइसकेको हुनुपर्ने ।
  • परियोजना निर्माणको लागि वित्तीय व्यवस्थापन तथा फाइनान्सियल क्लोजरको सैद्धान्तिक सहमतिपत्र प्राप्त गरिसकेको हुनुपर्ने ।
  • हकप्रद निष्काशन वा फर्दर पव्लिक इस्यूको सार्वजनिक सूचना प्रकाशित गर्नु भन्दा कम्तीमा ५ कार्य दिन अगाडि परियोजना निर्माणको लागि वित्तीय व्यवस्थापन तथा फाइनान्सियल क्लोजर भएको जानकारी गराई बोर्डको स्वीकृति लिएर मात्रै दरखास्त खुल्ला गरिएको सूचना प्रकाशित गर्नु पर्ने ।