बेइजिङ । चीनले अमेरिकाको १२८ वस्तुको आयातमा २५ प्रतिशत अतिरिक्त कर लगाएको छ । 

चीनको बित्त मन्त्रालयले जारी गरेको सूचनालाई उल्लेख गर्दै अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएअनुसार अमेरिकाले चीनमा उत्पादित स्टील तथा आल्मुनियममा लगाएको अतिरिक्त करको जवाफमा चीनले यो कदम उठाएको हो ।

त्यसबेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ उत्पादनमाथि अतिरिक्त कर लगाउने घोषणा गर्दै भनेका थिए–‘हामी युद्धका लागि तयार छौ ।’ चीनले समेत अमेरिकालाई त्यस्तै भाषामा जवाफ दिएको छ । 

अमेरिका र चीनबीचको यो व्यापार युद्धले विश्वमै हलचल ल्याउने विश्लेषकहरुले बताएका छन् । यसको असर सम्पूर्ण विश्वकै कारोबारमा पर्ने बताइएको छ । 

चीनको बित्त मन्त्रालयको वेबसाइटमा दिइएको सूचनाअनुसार चीनले अमेरिकाबाट आयात हुने फलफूल र यस्तै १२० प्रडक्टमा १५ प्रतिशत अतिरिक्त कर लगाएको छ । पोर्क वा यस्तै प्रकारका अन्य ८ प्रडक्टमा भने २५ प्रतिशतको अतिरिक्त कर लगाइएको छ । 

मन्त्रालयको सूचनामा स्पष्ट भनिएको छ कि अमेरिकाले आल्मुनियम प्रडक्टमा जुन कर लगाएको छ, त्यसैको जवाफमा चीनले समेत यो कदम उठाएको हो । 

विश्वका कैयन देशहरुले तीव्र विरोध गरे पनि अमेरिकाले स्टीलको आयातमा २५ प्रतिशत र अल्मुनियमको आयातमा १० प्रतिशत अतिरिक्त कर लगाउने घोषणा गरेको थियो । चीनले निकै ठूलो परिमाणमा आफ्नो देशमा उत्पादित स्टील तथा आल्मुुनियम अमेरिकामा निर्यात गर्ने गर्छ । अमेरिकी कदमलगत्तै चीनले त्यसको कडा विरोध गरेको थियो र आफूहरुले समेत यसको उचित जवाफ दिने बताएको थियो । 

खासमा अमेरिकाले जसरी अतिरिक्त करको भार बोकाउने काम गरेको छ, त्यो विश्व व्यापार संगठनको नियम विपरीत हो । तर, पनि उसले आफ्नो शक्ति देखाउँदै यो निर्णय २५ मार्चबाट लागू गरेरै छाड्यो ।

चीन सरकारले जारी गरेको विज्ञप्तिमा भनिएको छ कि चीन बहुपक्षीय व्यापार नीतिको पक्षमा छ । अमेरिकी वस्तुको आयातमा कर छुटको साबिकको व्यवस्था खारेजीको निर्णय चिनिया हितको सुरक्षाका लागि गरिएको समेत सरकारको प्रष्टोक्ति छ ।