काठमाडौँ । राष्ट्रबैंकले तोकको पूँजी वृद्धि गर्न हकप्रद शेयर जारी गर्ने बाटो रोजेको मुक्तिनाथ विकास बैंकले चुक्ता पूँजी सँगै प्रतिशेयर आम्दानी समेत वृद्धि गरेको छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिसम्ममा विकास बैंकका लागि तोकिएको चुक्ता पूँजी २ अर्ब ५० करोड नघाएको मुक्तिनाथले प्रतिशेयर आम्दानी समेत अघिल्लो त्रैमासका तुलनामा वृद्धि गर्न सफल भएको छ । अघिल्लो त्रैमासमा बै‍ँकको प्रतिशेयर आम्दानी २० दशमलव ४ पैसा रहेकोमा यस त्रैमाससम्ममा कम्पनीले २२ रुपैया प्रतिशेयर आम्दानी गर्न सफल भएको छ । चुक्ता पूँजीसँगै प्रतिशयेर आम्दानी पनि वृद्धि गर्दै जानु चुनौतीपूर्ण हुन्छ । 
 
त्रेस्रो त्रैमासिक अवधिमा कम्पनीको नाफामा अपेक्षित सुधार आएको छ । कम्पनीले यस अवधिसम्ममा ४२ करोड ७५ लाख ७२ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो गत वर्षको भन्दा २० प्रतिशतले बढी हो । गत वर्ष सोही अवधिमा कम्पनीले ३५ करोड ५१ लाख २५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 
 
कम्पनीको खुद व्याज आम्दानी र सञ्चालन मुनाफा दुवै वृद्धि भएका कारण पूँजी वृद्धि भए पनि नाफा बढ्न सकेको हो । समीक्षा अवधिमा कम्पनीले ८८ करोड २८ लाख २८ लाख ब्याज आम्दानी गर्न सफल भएको छ । यो गत वर्षको भन्दा १५ करोड १७ लाख ६१ हजार रुपैयाँले बढी हो । यसैगरी कम्पनीको सञ्चालन मुनाफा समेत २२ प्रतिशतले वृद्धि भएको छ । समीक्षा अवधिमा ६५ करोड ७६ लाख ४० हजार सञ्चालन मुनाफा आर्जन गरेको बैंकले गत वर्षको यही अवधिसम्ममा ५३ करोड ६७ लाख २० हजार रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको थियो । 
 
पहिलो र दोस्रो त्रैमासभन्दा प्रतिशेयर आम्दानी वृद्धि गर्दैैं लगेको बैंकको प्रतिशेयर नेटवर्थ १ सय ३० दशमलव ५४ रुपैयाँ रहेको छ । यसैगरी मूल्य आम्दानी अनुपात १८ मा रहेको छ । यस त्रैमासमा कम्पनीले  १६ करोड ३१ लाख ९० हजार रुपैयाँ थप गरी ८० करोड ४६ लाख १९ हजार रुपैयाँ बराबरको जगेडा कोष समेत सबल बनाउँदै लगेको छ । आगामी दिनमा नाफा अझ विस्तार गर्न उत्पादनशील क्षेत्रमा लगानी वृद्धि गर्दै जाने रणनीति बैंकले बनाएको छ ।