काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको निमित्त महानिर्देशकमा गोपालप्रसाद तिवारी नियुक्त भएका छन् । 

उनलाई जेष्ठ ९ गते उक्त पदमा नियुक्त गरिएको नेपाल उद्योग वाणिज्य महासंघले विज्ञप्तिमार्फत जनाएको छ। 

सार्वजनिक–निजी क्षेत्र, नेपालस्थित विभिन्न दातृ निकायहरू र संचार क्षेत्रमा लामो समय बिताएका तिवारी पछिल्लो पटक नेपाल सरकारबाट प्रवद्र्धित एवम् सार्वजनिक–निजी संवाद प्रतिष्ठानको रूपमा रहेको नेपाल व्यवसाय मञ्चमा सल्लाहकार⁄परामर्शदाताको रूपमा कार्यरत थिए ।

अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएका विभिन्न प्रतिष्ठित संघसंस्थाहरुसँग आबद्ध तिवारी निजी क्षेत्र, आर्थिक व्यवसायिक विषयवस्तुका साथै समग्र अर्थतन्त्रका जानकार रहेका विज्ञप्तिमा उल्लेख छ ।

अर्थशास्त्रमा स्नातकोत्तर तिवारी नेपालमा लगानीको वातावरण सुधार सम्बन्धमा विद्याबारिधी गर्दैछन् । 

तिवारी सन् २०१६ मा नर्वेबाट सोसिएल इन्टरप्रेनियूरशीप एण्ड इनोभेसन म्यानेजमेन्टमा ग्रयाजुएट र सन् २०१४ देखि बीजनेश स्कूल अफ नेदरल्याण्डसमा म्यानेजमेन्ट स्कलरको रुपमा रहेका छन् । 

निमित्त महानिर्देशक तिवारीले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थामार्फत आर्थिक विषयमा अनुसन्धान पनि गरेका छन् भने उनका विभिन्न अन्तराष्ट्रिय जर्नलमा अनुसन्धानमूलक लेखहरू समेत प्रकाशित छन् । उनका पुस्तक सहित व्यापार, अर्थतन्त्र, निजी क्षेत्र विकास, सामाजिक उद्यमशीलताका विषयमा दर्जनौ लेखरचनाहरू समेत प्रकाशित छन् । तिवारी, नेपालको एक मात्र अर्थशास्त्रीहरूको संस्था नेपाल आर्थिक संघका महासचिव समेत छन् ।