काठमाण्डौ । नेपाल टेलिकमले आफ्नो मोबाइल एप ‘नेपाल टेलिकम’लाई परिमार्जन गरी नयाँ रुपमा प्रस्तुत गरेको छ । नयाँ एपमार्फत नेपाल टेलिकमका जीएसएम, सीडीएमए, पीएसटीएन र एडीएसएल लगायतका सेवाहरुको बारेमा जानकारी प्राप्त गर्न सकिन्छ ।

यो एपमा लग इन गर्नासाथ मोबाइलमा भएको ब्यालेन्स रकम तथा नेपाल टेलिकमको प्याकेज खरिद गरेको भए सो बारे जानकारी प्राप्त गर्न सकिन्छ । पछिल्लो अवस्थामा विभिन्न प्रकारका प्याकेज खरिद गरी सेवा उपभोग गर्ने प्रचलन बढ्दै गएकाले विशेष गरी त्यस्ता प्याकेज खरिद गर्नका लागि यो एपबाट सहज हुने छ ।

त्यसैगरी एफएनएफ सर्भिसबाट नेपाल टेलिकमका आफूले चाहेका ५ वटा नम्बरमा सस्तो दरमा कल गर्नका लागि सेवा सुचारु गर्न सकिन्छ । विभिन्न सेवाका लागि आवश्यक रकम रिचार्ज गर्न र जीएसएम प्रिपेडबाट ब्यालेन्स ट्रान्सफर गर्नसमेत यसबाट सहज हुन्छ । पिन कोड राखेर वा रिचार्ज कार्ड स्क्यान ९स्क्यान एन्ड्रोइडमा मात्र हुने) गरेर पनि यसबाट रिचार्ज गर्न सकिन्छ । यो एपमार्फत आफ्नो मोबाइलबाट नेपाल टेलिकमको कुनै अर्को मोबाइलमा विभिन्न प्याकेजहरु गिफ्ट दिन पनि सकिन्छ ।

साथै रिचार्ज कार्डबाट कम्पनीका विभिन्न सेवाको बिल भुक्तानी पनि यही एपमार्फत गर्न सकिन्छ । कम्पनीको फेसबुक लगायतका सोसल मिडियासमेत यहीँबाट प्रयोग गर्न सकिन्छ ।

यस एपबाट १००, १०१, १०२ जस्ता इमर्जेन्सी नम्बरहरु डायल गरी आवश्यक सेवा लिनुका साथै १९७, १४९८ आदि नम्बरमा डायल गरी कम्पनीका विभिन्न सेवाका वारेमा सोधपुछ गर्न पनि सकिन्छ । उक्त एपमा कम्पनीले उपलब्ध गराउदै आएका सम्पूर्ण सेवाहरुको महसुल दर बारे जानकारी लिन पनि सकिन्छ । भविष्यमा अन्य सेवाहरु पनि थप गर्दै लैजाने योजना रहेको छ ।

गुगल प्ले स्टोर तथा एप्पल एप स्टोरबाट ‘नेपाल टेलिकम’ एप डाउनलोड गरी नेपाल टेलिकमको मोबाइल नम्बरमार्फत रजिष्टर गरे पछि यो एप चलाउन सकिन्छ ।