काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीनको साताव्यापी औपचारिक भ्रमणमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाको नेतृत्वमा उद्योगी व्यवसायीको टोली पनि चीन प्रस्थान गरेको छ । 

महासंघको प्रतिनिधिमण्डलमा अध्यक्ष राणा सहित निवर्तमान अध्यक्ष पशुपति मुरारका, महासंघका विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष चण्डिराज ढकाल, महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्षहरू किशोरकुमार प्रधान, उमेशलाल श्रेष्ठ र चन्द्रप्रसाद ढकाल, कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधान, कार्यकारिणी समिति सदस्यहरू ज्योत्सना श्रेष्ठ र प्रवलजंग पाण्डे, स्वतन्त्र उर्जा उत्पादक संघ(आइपान)का अध्यक्ष शैलेन्द्र गुरागाई र महासंघका निमित्त महानिर्देशक गोपालप्रसाद तिवारी रहेका छन् ।

चीनमा रहँदा महासंघको प्रतिनिधिमण्डल प्रधानमन्त्रीको औपचारिक कार्यक्रमहरुमा सहभागी हुनुको साथै व्यवसायिक भेटवार्तामा समेत व्यस्त रहने जारी विज्ञप्तिमा जनाइएको छ । पर्यटन, सेवा तथा उत्पादनमूलक, निर्माण सामाग्री, व्यवसायिक कृषि, अटो, खाद्यान्न, जलविद्युत, बैकिङ, औषधि, केवलकार, रेमिटान्स, गरगहनासहित हस्तकला लगायतका क्षेत्रको प्रतिनिधित्व रहेको महासंघको प्रतिनिधिमण्डलले त्यहाँ रहँदा चिनियाँ साझेदारहरूसँग व्यवसायिक तथा लगानी सम्बन्धी छलफल गर्नेछ । महासंघको प्रतिनिधिमण्डल आजै साँझ बेइजिङस्थित नेपाली राजदुतावासले आयोजना गरेको कार्यक्रममा पनि सहभागी हुनेछ ।

प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धनका लागि चिनियाँ परिषदद्वारा भोलि विहान बेइजिङमा आयोजना हुने “चाइना–नेपाल बिजिनेस फोरम मिटिङ”मा महासंघको प्रतिनिधिमण्डलले भाग लिनेछ । उक्त कार्यक्रमलाई नेपाली निजी क्षेत्रको तर्फबाट महासंघका अध्यक्ष राणाले पनि सम्बोधन गर्ने कार्यक्रम छ ।