काठमाण्डौ । भारत भ्रमणमा रहेकी नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा र नयाँ दिल्लीस्थित पूर्वी अफ्रिकी राष्ट्र गणतन्त्र सिसेल्सका राजदूत फिलिप्पी लि गलबीच नयाँदिल्लीमा भेटवार्ता भएको छ । सो क्रममा नेपाल र सिसेल्स बीच व्यापार तथा लगानीका सम्भाव्यता विषयमा छलफल भएको महासंघको सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सो अवसरमा अध्यक्ष राणाले राजदूत फिलिप्पीको स्वागत गर्दै नेपाल र सिसेल्स बीच पर्यटन, मत्स्य पालन लगायत अन्य व्यवसायिक क्षेत्रमा लगानीको ठूलो सम्भाव्यता रहेको औंल्याइन् । राणाले बदलिंदो विश्व परिपे्रक्ष्यमा नविनतम उपायबाट दुई देशबीच पर्यटन क्षेत्रका सम्भाब्यता उजागर गर्न सकिनेमा जोड दिएकी थिइन् ।

विकासमा सिसेल्सले गरेको प्रगति प्रशंसनीय रहेको बताउँदै उनले आर्थिक विकासमा भर्खर अगाडि बढेको नेपालका लागि सिसेल्सको प्रगति अनुकरणीय हुन सक्ने समते बताएकी थिइन् ।

नेपाल सिसेल्स चेम्बर अफ कमर्सका अध्यक्ष बासुदेव प्रसाद गौतमले निकट भविष्यमा नेपाल र सिसेल्सका व्यावसायी बीच भ्रमण आदान प्रदानका साथै व्यापार, पर्यटन तथा संयुक्त लगानीका विषयमा गहन छलफलको आयोजना गरिने जानकारी गराए । 

ईण्डियाका लागि सिसेल्सका सांस्कृतिक राजदूत दिपक सिंह, महासंघका निमित्त महानिर्देशक गोपालप्रसाद तिवारी र नेपाल सिसेल्स चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रिका महासचिव प्रदिप खनालको उपस्थिति रहेको सो भेटवार्तामा राजदूत फिलिप्पी लिले नेपाली निजी क्षेत्रसँग भेटवार्ता गर्न पाएकोमा खुशी व्यक्त गरेका थिए ।