काठमाण्डौ । राष्ट्रिय स्तरका अधिकांश विकास बैंक(आफ्ना प्रतिस्पर्धी)हरुले उत्साहप्रद वित्तीय विवरण पस्किरहेको बेला देवः विकास बैंकले भने नाफा घटेको रिपोर्ट सार्वजनिक गरेको छ । 

मंगलबार यो बैंकले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमाससम्म २७ करोड ५३ लाख मात्र खूद नाफा आर्जन भएको छ । अघिल्लो वर्ष यही अवधिमा यस्तो नाफा २८ करोड ९४ लाखको उचाईमा थियो । 

खूद नाफा घटे पनि खूद ब्याज आम्दानी र संचालन नाफामा भने बैंकको राम्रै प्रगति देखिएको छ । बैंकले अघिल्लो वर्ष ४१ करोड ८५ लाखमा सीमित संचालन नाफालाई बढाएर ४६ करोड १० लाखको उचाई चुमाएको छ भने ५५ करोड ४८ लाखमा सीमित खूद ब्याज आम्दानी बढाएर ६९ करोड ३४ लाखको उचाईमा पुर्याएको छ । ५० करोड ३६ लाखमा सीमित ब्याज खर्च अचाक्ली बढेर १ अर्ब ८ करोड माथि पुगेपछि खूद ब्याज आम्दानीमा उल्लेख्य प्रगति हुन नसकेको हो । 

समीक्षा अवधिमा बैंले १५ अर्ब ६९ करोड निक्षेप संकलन गरी १३ अर्ब ५९ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष १० अर्ब ४१ करोड निक्षेप संकलन गरी ९ अर्ब ५७ करोड कर्जा परिचालन गरेको थियो । 

यो अवधिमा बैंकले ४७ करोड ६४ लाखमा सीमित रिजर्बकोषलाई झिनो बढोत्तरी गरी ४८ करोड १२ लाखमा पुर्याएको छ । 

बैंक व्यवस्थापनले खराब कर्जालाई भने घटाउन नसकेको देखिएको छ । केही साना संस्थाहरु प्राप्ति गरेका कारण समेत त्यहाँबाट आएका खराब कर्जाले पनि यस्तो अवस्था भएको हुनसक्छ । अघिल्लो वर्ष यही अवधिमा १.२४ प्रतिशत रहेको खराब कर्जाको अनुपात बढेर १.९२ प्रतिशत पुगेको छ । यो राम्रो संकेत होइन । 

समीक्षा अवधिसम्म बैंकमा ७२.८६ प्रतिशतको सीसीडी रेसियो कायम भएको छ भने यो अवधिमा प्रतिसेयर आम्दानी १०.८७ रुपैयाँ(वार्षिकीकरण गरिएको), प्रतिसेयर नेटवर्थ ११८.९९ रुपैयाँ र मूल्य आम्दानी अनुपात ११.८७ गुणा कायम भएको छ ।