काठमाण्डौ । नवील बैंक लिमीटेडले नेपाल बंगलादेश बैंकसँग अगाडि बढाएको प्राप्ति सम्बन्धी छलफल निश्कर्षउन्मुख नभएपछि तत्कालका लागि स्थगित भएको छ । 

नवील बैंकमा ठूलो लगानी रहेको चौधरी ग्रुपस्थित उच्च स्रोतका अनुसार पछिल्लो छलफल बुधबार भएको थियो । नेपाल बंगलादेश बैंकमा ठूलो लगानी गरेका बंगलादेशी लगानीकर्तासँग बुधबार भएको तेश्रो छलफलले तत्कालका लागि निश्कर्षमा पुग्ने बाटो बन्द गरिदिएको स्रोतको दाबी छ । 

‘बंगलादेश बैंकलाई खरीद गर्ने गरी हामी अगाडि बढेका थियौं ।’ स्रोतले भन्यो–‘तर, बंगलादेश बैंकले बढी सेयर स्वाप रेसियो खोजेपछि तत्कालका लागि सहमतिको वातावरण बिग्रिएको छ।’

बंगलादेश बैंकका लगानीकर्ताहरु सेयर स्वाप रेसियोमा केही सम्झौता गर्न तयार नहुने हो भने जारी छलफल सधैंका लागि टुंगिन पनि सक्ने स्रोतको भनाई छ । 

‘हामीले बंगलादेश बैंकसँग गरेको छलफलमा सहमति भएन । अब सहमति बन्ने संभावना समेत न्यून छ ।’ स्रोतले भन्यो–‘अब हामी अन्य बैंकसँग छलफलमा जुट्ने छौं ।’ 

बंगलादेश बैंकका लगानीकर्ताले नवीलसँग ३५ रुपैयाँसम्मको सेयर स्वाप रेसियो मागेका थिए । नवील भने बंगलादेश कमजोर वाणिज्य बैंक रहेकोले उसलाई ३५ रुपैयाँमा लिन नसकिने निश्कर्षमा पुगेको हो । स्रोतका अनुसार बंगलादेश बैंकलाई २० रुपैयाँ भन्दा बढी दिन नसकिने नवीलको विश्लेषण छ ।