काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्स(एनसीसी)ले नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसिसीआई)को सदस्यता त्याग गर्ने निर्णय गरेको छ । 

एनसीसीको आइतबार अपरान्ह बसेको कार्यसमिति बैठकले एफएनसीसीआईको सदस्यता त्याग गर्ने निर्णय गरेको हो । 

एनसीसीका एक कार्यसमिति सदस्यका अनुसार आइतबार सर्वसम्मतले भएको निर्णयलाई आधार बनाई सोमबार एनसीसीले एफएनसिसीआईलाई एक पत्र लेख्दैछ । ‘पत्रमार्फत एफएनसिसीआईलाई उसको सदस्यता परित्याग सम्बन्धी निर्णय भएको बिषयमा जानकारी गराइनेछ ।’ ती सदस्यले भने–‘एनसीसी नै एफएनसिसीआईकै संगठनात्मक संरचनामा रुपान्तरण भई देशव्यापी बन्दै गएपछि अब हामीलाई एफएनसिसीआईको सदस्यता रहिरहने आवश्यकता परेन ।’ 

मन्त्रीपरिषदले एनसीसी र नेपाल उद्योग परिसंघ(सिएनआई)लाई समेत महासंघीय ढाँचामा जाने गरी उनीहरुको विधान स्वीकृत गरिदिएसँगै एफएनसिसीआईको जिल्ला नगर क्षेत्रको एकाधिकार अन्त भएको थियो । यो निर्णयसँगै एनसीसी संगठन बिस्तारमा आक्रामक छ भने सिएनआई केही सुस्त छ । मुख्य रुपमा जिल्ला नगरमा एफएनसिसीआई र एनसीसीबीच तीव्र प्रतिस्पर्धा समेत देखिएको छ । 

एफएनसिसीआईको जस्तै विधानमा रुपान्तरण भई एनसीसीले हालसम्म ६० वटा जिल्लामा संगठन बिस्तार गरिसकेको छ । बाँकी १७ वटा जिल्लामा पनि निकट भविष्यमै संगठन बिस्तार गर्ने उसको योजना छ । एनसीसी ६० वटा जिल्लामा पुगेपछि त्यहाँका उद्योगी व्यापारीले संगठन छान्न पाउने विकल्प पाएका बताइन्छ । 

कतिपय जिल्लामा त एफएनसिसीआईकै नेताहरु समेत एनसीसीमा आएका छन् । एफएनसिसीआईकै वरिष्ठ उपाध्यक्ष भइसकेका भाष्करराज राजकर्णिकारदेखि केन्द्रीय समितिमा रहिसकेका केही उद्योगी व्यापारी समेत एफएनसिसीआई छाडेर एनसीसीतर्फ आएका छन् । 

‘हामी एनसीसीलाई निजी क्षेत्रको भरोसाको केन्द्र बनाउने अभियानमा छौ ।’ एक पदाधिकारीले भने–‘२ नम्बर प्रदेशको चाहि एउटा जिल्लामा मात्र हाम्रो संगठन बिस्तार हुन सकेको छ, तर बाँकी रहेका सबै प्रदेशका सबै जिल्लामा हाम्रो बलियो उपस्थिति छ।’ 

एनसीसीले समेत महासंघीय ढाँचा अनुसारको विधान क्याबिनेटबाट पास गराई अगाडि बढेपछि एफएनसिसीआईले उसलाई आफ्नो सदस्यको हैसियतमा स्पष्टीकरण समेत सोधेको थियो । स्पष्टीकरणसँगै निजी क्षेत्रका यी दुई संगठनका अधिकारीहरुबीच केही समय बैमनस्यताजस्तो अवस्था देखिएको थियो । 

तर, पछिल्लो समय भने दुई संगठनका अधिकारीबीच ठूलो कटुता भने नरहेको एनसीसीका पदाधिकारीहरु बताउँछन् । 

‘हामी सबैको उद्देश्य निजी क्षेत्रलाई बलियो बनाउने हो । जिल्ला, नगर र गाउँका उद्योगी व्यवसायीलाई उत्कृष्ट विकल्प दिने हो ।’ एफएनसिसीआईका एक कार्यसमिति सदस्यले बिजशालासँग भने–‘तसर्थ, एनसीसीले सदस्यता परित्याग गर्दैमा हामीलाई केही फरक पर्दैन । उसले सदस्यता त्यागेजस्तै अवस्था त थियो नि ।’ 

तर, एनसीसीका अधिकारीहरुले भने एफएनसिसीआई स्थापना गर्ने प्रमुख भूमिका तत्कालीन समयमा आफूहरुकै रहेको उल्लेख गर्दै एनसीसीले सदस्यता परित्याग गर्दा एफएनसिसीआईको वर्तमान नेतृत्वलाई निकै ठूलो धक्का पुग्ने दाबी गरेका छन् ।