काठमाण्डौ । प्राइम कमर्सियल बैंकसँग कुरा नमिलेपछि एक्वीजिसन प्रक्रियाबाट पछाडि हटेको ओम डेभलपमेन्ट बैंक एनएमबी बैंकसँग बिलय हुने भएको छ । 

एनएमबी बैंक र ओम डेभलपमेन्ट बैंकबीच प्राप्ति(मर्जर)को बिषयमा मोटामोटी सहमति भइसकेको ओमस्थित उच्च स्रोतले जानकारी दिएको छ । 

एनएमबीले ओमलाई गाभ्ने बिषयमा औपचारिक समझदारी भोलि(बिहीबार) हुँदैछ । बिहीबार ३ः३० बजे यही प्रयोजनका लागि काठमाण्डौको एक होटलमा दुवै बैंकले पत्रकार सम्मेलन आयोजना गरेका छन् । 

विशेष समझदारी हुने भन्दै सो पत्रकार सम्मेलनको इमेल मिडियाहरुसम्म आइपुगेको छ । स्रोतले विशेष समझदारी भनेकै एनएमबीले ओमलाई गाभ्ने बिषयको समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम रहेको बतायो । 

ओम डेभलपमेन्ट बैंकको प्राइम कमर्सियलसँग कुरा नमिलेलगत्तै एनएमबी बैंकले कुरा अगाडि बढाएको थियो । 

एनएमबी बैंक विगत लामो समयदेखि प्रदेश नम्बर ४ मा आफ्नो कमजोर उपस्थितिलाई मजबुत बनाउनका लागि उपयुक्त पार्टनरको खोजीमा थियो।

यहीकारण यो बैंकले केही समयअघि गरिमा विकास बैंकसँग एक्वीजिसनको छलफल अगाडि बढाएको थियो । तर, त्यो छलफल निश्कर्षमा पुग्न सकेन ।

गरिमाजस्तै प्रदेश नम्बर ४ मा राम्रो शाखा सञ्जाल बिस्तार गरेको बलियो विकास बैंकको रुपमा एनएमबीले ओमलाई छनौट गरेको हो । 

ओमलाई बिलय गराउने विषयमा भएको समmभदारीको विषयमा प्रतिक्रिया लिन खोज्दा एनएमबी बैंक र ओम डेभलपमेन्ट बैंककै प्रमुख कार्यकारी अधिकृत सम्पर्कमा आउन चाहेनन् । 

ओम बैंकका एक संचालकले बिजशालासँग भने–‘तपाईले जे सुन्नुभयो, सही हो । बाँकी कुरा भोलि पत्रकार सम्मेलनबाटै थाहा हुन्छ । तर, भोलिको पत्रकार सम्मेलन विशेष हो, आउन नछुटाउनुहोला ।’