काठमाण्डौ । नबिल बैंकले सामाजिक उद्यमशीलतालाई प्रवर्द्ध गर्न सुरु गरेको ‘नबिल सामाजिक उद्यमशिलता’ कार्यक्रम (NABIL School of Social Entrepreneurship-NABIL SSE)  को पहिलो ब्याचको २० जना फेलोहरुले Enablers of Social Entrepreneurship Award प्राप्त गरेका छन्। नेपाल उद्योग परिसंघ अन्तर्गतको CNIYEF Nepal यो अवार्ड प्रदान गरेको हो। 

CNIYEF Nepal ले असार ११ गते काठमाण्डौमा आयोजना गरेको CNIYEF Nepal StartUp Fest 2022 मा ‘नबिल सामाजिक उद्यमशिलता’ कार्यक्रमअन्तर्गत पहिलो ब्याचका २० जना सहभागीहरुलाई सामूहिक रुपमा सो अवार्ड प्रदान गरेको हो। 

२०७८ साल चैत ७ गतेदेखि सुरु गरिएको पहिलो ब्याचको फेलोसिप कार्यक्रमअन्तर्गत देशभरका ३५० जना आवेदकमध्येबाट उत्कृष्ट २० जनालाई सामाजिक उद्यमका लागि त्रिभुवन विश्वाबिद्यालय आबद्ध व्यवस्थापन संकायसँग सहकार्य गर्दै निःशुल्क तालिम कक्षा सञ्चालन गरिरहेको छ। 

फेलोसिप कार्यक्रमका सहभागीहरुले कृषि, सूचना प्रविधि, हस्तकला, खाद्यन्न, कपडा उत्पादन, कफी शप सञ्चालनलगायतका क्षेत्रमा सामाजिक उद्यम अघि बढाएका छन्। हरेक महिना ३ दिन आवासीय सिकाइ र बाँकी दिन आफ्नै कार्यस्थलमा प्रयोगात्मक अभ्यास गर्ने ढाँचामा तयार गरिएको फेलोसिप तालिम  ६ महिनासम्म चल्छ। बाँकी ६ महिनाका लागि सबै सहभागिहरुलाई मेन्टर सेवा दिएर व्यवसाय गर्दा आइपर्ने व्यवहारिक कठिनाइको समाधानका लागि सहयोग गरिन्छ। सामाजिक उद्यम विकासका लागि शुरु गरिएको यो नयाँ कार्यलाई प्रोत्साहन गर्न Enabler of Social Entrepreneurship Award प्रदान गरिएको आयोजकको भनाइ छ।  

CNIYEF Nepal StartUp Fest 2022  युवाहरुलाई उद्यमशिलता प्रवर्द्धन गर्न आयोजना गरिएकोे थियो। यस कार्यक्रममा नेपालमा उद्यमशीलता बिकासमा स्थापित उद्यमी तथा अन्य व्यक्तित्वहरुबाट विभिन्न विषयमा प्रेरणादायी वक्तव्यहरु प्रस्तुत गरिएको थियो। उक्त कार्यक्रममा ७ वटा नेपाली स्टार्टअपहरुले व्यवसाय विस्तारका लागि २४ करोड ५० लाख रुपैयाँ लगानी प्राप्त गरेका छन्। 

कार्यक्रमको उद्घाटन समरोहमा प्रमुख अतिथि मन्त्री दिलेन्द्रप्रसाद बडु, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा नेपाल सरकारका अन्य उच्च पदस्तकरीहरुको उपस्थिति थियो।