काठमाण्डौ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल ८प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ बाँडफाँड गरेको छ । प्रतिकित्ता १०० रुपैयाँ अंकितका दरले पाँच करोड कित्ता अविमोच्य असञ्चिति अग्राधिकार सेयर बाँडफाँड सम्पन्न भएको बैंकले जनाएको छ ।
नेपाल धितोपत्र बोर्डको स्वीकृतिपछि बैंकले पुस १ गते अग्राधिकार सेयरको अन्तिम बाँडफाँड गरेको हो । संस्थागत लगानीकर्ताहरुलाई परिपत्र विधि (व्यक्तिगत तवर) बाट प्रस्ताव आह्वान गरी प्राप्त आवेदन बमोजिम अग्राधिकार सेयर बाँडफाँड गरिएको हो ।
नेपाल राष्ट्र बैंक तथा नेपाल धितोपत्र बोर्डले अविमोच्य असञ्चिति अग्राधिकार सेयरसम्बन्धी नीतिगत व्यवस्था गरेपश्चात, यस किसिमको अग्राधिकार सेयर जारी गर्ने स्वीकृति नेपाल धितोपत्र बोर्डबाट पहिलोपटक नबिल बैंकले प्राप्त गरेको हो । अविमोच्य असञ्चिति अग्राधिकार सेयर निश्चित भुक्तानी अवधि नतोकिएको तर बैंकले वितरणयोग्य मुनाफा आर्जन गरेको वर्षमा निश्चित लाभाशं पाउने विशेषता भएको पूँजी बजार उपकरण हो ।
यस उपकरण जारी गरेपश्चात अतिरिक्त प्राथमिक पूँजीका माध्यमबाट पूँजीगत आधार बलियो भई बैंकको जोखिम भार क्षमता बढ्ने र व्यवसाय विस्तारमा थप सहयोग पुग्ने बिश्वास लिएको छ ।

