काठमाण्डौं। नेपाली कांग्रेसभित्र क्रियाशील सदस्यता नवीकरण र १५औँ महाधिवेशनको तयारीलाई लिएर विवाद चर्किँदै गएको छ।
एकातर्फ नेता डा. शेखर कोइराला पक्षले बागमती प्रदेशस्तरीय छलफल गर्दै सदस्यता अद्यावधिकको प्रक्रिया व्यवहारिक नभएको निष्कर्ष निकालेको छ भने अर्कोतर्फ शेरबहादुर देउवा समूहले भने यसलाई बदनियतपूर्ण प्रयास भन्दै आपत्ति जनाएको छ।
पूर्वसभापति शेरबहादुर देउवा पक्षले भने पार्टी सभापति गगन थापामाथि सदस्यता फेरि नवीकरण गर्ने प्रयास गरेको आरोप लगाएको छ।
नेता पूर्णबहादुर खड्काको नेतृत्वमा बसेको देउवा समूहको भेलाले विधानअनुसार सदस्यता नवीकरण प्रक्रिया पहिले नै सम्पन्न भइसकेको निष्कर्ष निकालेको हो ।

जारी विज्ञप्तिमा भनिएको छ, “१५औँ महाधिवेशनको कार्यतालिका अनुसार क्रियाशील सदस्यता नवीकरण र वितरण लगभग पूरा भइसकेको अवस्थामा पुनः अद्यावधिक गर्ने नाममा ऐतिहासिक योगदान भएका सदस्यहरूको अधिकार खारेज गर्ने प्रयास गलत हो।”
समूहले यस्तो कदमलाई पूर्वाग्रही र बदनियतपूर्ण भन्दै तत्काल रोक्न आग्रह गरेको छ।
उता, बालुवाटारस्थित ओपेरा होटलमा आयोजित बागमती प्रदेशस्तरीय छलफलमा डा. कोइराला निकट नेताहरू सहभागी भएका थिए।
छलफल देश र पार्टीको वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै आगामी रणनीति तय गर्ने उद्देश्यले गरिएको सचिवालयले जनाएको छ।
छलफलमा सहभागी नेताहरूले हालसम्म क्रियाशील सदस्यता नवीकरण भइसकेको अवस्थामा पुनः अद्यावधिक गर्ने प्रयास व्यवहारिक नभएको बताएका छन्।
उनीहरूले विशेष महाधिवेशनका कारण पार्टीभित्र एकता कमजोर भएको उल्लेख गर्दै एकता कायम गर्ने जिम्मेवारी नेतृत्वमै रहेको टिप्पणीसमेत गरेका छन्।
कांग्रेसभित्र सदस्यता व्यवस्थापनलाई लिएर देखिएको यो विवादले आगामी महाधिवेशनको तयारीमा थप जटिलता उत्पन्न गर्ने संकेत गरेको छ।
पार्टीभित्र फरक–फरक धारणा सार्वजनिक भएसँगै आन्तरिक सहमति कसरी बन्ने भन्ने प्रश्न अझै अनिश्चित बनेको छ।

