काठमाण्डौ । पाकिस्तानको काराकोरम पर्वत शृङ्खलामा अवस्थित विश्वको १२औँ अग्लो हिमाल ब्रड पिक (८,०४७ मिटर) मा गएको हिमपहिरोपछि नेपाली मूलका प्रख्यात पर्वतारोही तथा पूर्व रोयल मरीन निर्मल पुर्जा (निम्स दाइ) नेतृत्वको १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन भएको छ।
पाकिस्तानका पर्वतारोहण अधिकारीहरूका अनुसार बिहीबार मध्याह्नतिर हिमपहिरो गएको थियो। घटनापछि टोलीसँग कुनै पनि प्रकारको सम्पर्क हुन नसकेको जनाइएको छ।
टोलीमा एक अमेरिकी, एक चिनियाँ, एक ओमानी तथा पाँच नेपालीसहित विभिन्न देशका आरोही सहभागी रहेको बताइएको छ। टोलीको नेतृत्व निर्मल पुर्जाले गरिरहेका थिए।
पाकिस्तान अल्पाइन क्लबका उपाध्यक्ष करार हैद्रीका अनुसार मौसम अनुकूल रहे शुक्रबार बिहान हेलिकोप्टरमार्फत उद्धार अभियान सञ्चालन गर्ने तयारी भइरहेको छ। उद्धारका लागि सम्बन्धित निकायसँग निरन्तर समन्वय भइरहेको उनले बताएका छन्।
अल्पाइन क्लब अफ पाकिस्तानले पनि विज्ञप्ति जारी गर्दै उद्धारका लागि उपलब्ध सबै स्रोत–साधन परिचालन गर्न सम्बन्धित निकायसँग निरन्तर सम्पर्कमा रहेको जनाएको छ। साथै, सम्पूर्ण आरोहीको सकुशल उद्धारको कामना गर्दै उनीहरूका परिवार तथा अन्तर्राष्ट्रिय पर्वतारोहण समुदायप्रति ऐक्यबद्धता व्यक्त गरेको छ।
ब्रड पिक विश्वका सबैभन्दा चुनौतीपूर्ण आरोहण गन्तव्यमध्ये एक मानिन्छ। ८,०४७ मिटर अग्लो यो हिमाल विश्वको १२औँ अग्लो शिखर हो।
निर्मल पुर्जा सन् २०१९ मा विश्वका ८,००० मिटरभन्दा अग्ला सबै १४ हिमाल केवल छ महिना केही दिनमै आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका पर्वतारोही हुन्। उनले सन् २००३ मा बेलायती सेनामा प्रवेश गरेका थिए भने सन् २००९ मा रोयल मरीन बनेका थिए। सन् २०१२ मा एभरेस्ट आधार शिविर पुगेपछि पर्वतारोहणमा सक्रिय बनेका पुर्जा त्यसयता विश्वकै चर्चित पर्वतारोहीमध्ये एकका रूपमा परिचित छन्।

